काठमाडौँ — आगामी २१ फागुनमा हुन लागेको प्रतिनिधिसभा निर्वाचनका लागि निर्वाचन आयोगले प्रस्तावित कार्यक्रम सार्वजनिक गर्दै राजनीतिक दलहरूसँग छलफल गरेको छ। प्रत्यक्ष प्रणालीतर्फ ६ माघमा उम्मेदवारी मनोनयन दर्ता गर्ने प्रस्ताव आयोगले राखेको छ।
समानुपातिक प्रणालीतर्फ दलहरूले १३ पुसमा बन्दसुची पेस गर्नुपर्ने प्रस्ताव छ। आयोगले बिहीबार दलहरूसँग छलफल गर्दै सम्पुर्ण प्रस्तावित तालिका प्रस्तुत गरेको हो।
कार्यक्रमअनुसार ६ माघको बिहान १० देखि ५ बजेसम्म मनोनयन दर्ता हुनेछ। सोही दिन मनोनयनको प्रारम्भिक सुची प्रकाशित गरिनेछ । ७ माघमा उजुरी दिने समय रहनेछ र ८ माघमा अन्तिम नामावली प्रकाशित हुनेछ । ९ माघमा नाम फिर्ता लिन पाउने र सोही दिन अन्तिम सुची तथा चुनाव चिह्न प्रदान गर्ने प्रस्ताव छ ।
समानुपातिकतर्फ निर्वाचनमा भाग लिन चाहने दलले २१–२३ मंसिरमा निवेदन दिनुपर्नेछ। दल दर्ता तथा बन्दसूची पेस गर्ने समयसुचीअनुसार ४ माघमा समानुपातिक उम्मेदवारको नामावली प्रकाशन र २० माघमा अन्तिम बन्दसुची प्रकाशित गरिनेछ।
छलफलमा कांग्रेस, माओवादी, रास्वपा, राप्रपा, जसपा, लोसपा, जनमतलगायत दल सहभागी भए। एमाले भने बैठकमा उपस्थित रहेन, जसले निर्वाचनप्रति संशय बढाएको अन्य दलका नेताहरूले टिप्पणी गरे।
कांग्रेस नेत्री पुष्पा भुसाल र माओवादी नेता लीलामणि पोखरेलले २१ फागुनमै चुनाव हुनुपर्नेमा जोड दिए। तर सरकार र आयोगले आवश्यक तयारीमा विश्वसनीय माहोल बनाउन नसकेको उनीहरूको भनाइ छ। अन्य दलका नेताहरूले पनि सुरक्षा अवस्थादेखि राजनीतिक समन्वयसम्मका विषयमा सरकारप्रतिको असन्तोष व्यक्त गरे।
आयोगले भने निर्वाचन स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा गराइने आश्वासन दिएको छ।
© 2026 All right reserved to usnepaltoday.com | Site By : SobizTrend