भक्तपुर, नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले अराजक घटनाबाट जन्मिएको वर्तमान सरकारलाई लोकतान्त्रिक भन्न नसकिने टिप्पणी गरेका छन्। उनले भदौ २३ र २४ गतेका घटनापछि बनेको सरकारले लोकतन्त्रप्रतिको प्रतिबद्धता देखाउने अपेक्षा गर्नु गलत हुने बताए।
झापाका अगुवा कार्यकर्ताहरूलाई भर्चुअल सम्बोधन गर्दै उनले अलोकतान्त्रिक सरकार चुनाव गराउने नाटक गरिरहेको आरोप लगाए। चार महिनामै चुनाव गर्ने भन्दै नेताहरूलाई जिल्लामा जान नदिएको, निर्वाचन क्षेत्रमा प्रवेश रोकिएको र प्रचार–प्रसारमा समेत प्रतिबन्ध लगाइएको उनले उल्लेख गरे।
‘राजनीतिक दल र नेतामाथि अवरोध खडा गरेर कस्तो चुनाव गराउन खोजिएको हो?’ अध्यक्ष ओलीले प्रश्न गरे।
जेनजीका नाममा एमालेमाथि भएको आक्रमण पार्टीको राष्ट्रहित र विकासका कामलाई कमजोर पार्ने प्रयास भएको उनकाे दाबी छ। यस्तो आक्रमण रोक्न एमाले सक्षम रहेको उनले बताए।
समाजमा बढ्दै गएको अराजकता रोक्न टोल–टोलमा सुरक्षा समिति गठन गरिरहेको जानकारी पनि अध्यक्ष ओलीले दिए। यी समितिहरूले आपराधिक गतिविधि नियन्त्रणमा सहयोग गर्ने र सुरक्षा वातावरण बनाउन भुमिका खेल्ने बताए।
गैरसंवैधानिक रूपमा विघटन गरिएको प्रतिनिधि सभा पुनर्स्थापनाका लागि देशव्यापी दबाब निर्माण गर्न उनले कार्यकर्तालाई आह्वान गरे। प्रतिनिधि सभाको पुनर्स्थापनाले लोकतान्त्रिक प्रक्रियालाई सही दिशामा फर्काउने उनको भनाइ थियो।
बैठकमा उनले कात्तिक २९ गते झापामा हुने जागरण सभालाई भव्य बनाउन निर्देशन दिए। एमाले झापाका अध्यक्ष प्रेमबहादुर गिरीले भदौ २३–२४ का तोडफोड, आगजनी र विध्वंसपछि क्षेत्रको अवस्थाबारे ओलीलाई जानकारी गराएका थिए।
© 2026 All right reserved to usnepaltoday.com | Site By : SobizTrend