काठमाडौँ । मंसिर ७ गतेदेखि काठमाडौँमा वृहत् आन्दोलनको घोषणा गरेका विवादास्पद अभियन्ता दुर्गा प्रसाईंसँग सरकारले औपचारिक संवादको तयारी गरेको छ। गृहमन्त्री ओमप्रकाश अर्यालले स्वयं प्रसाईंका मागहरू सुन्न र आन्दोलन टार्नका लागि वार्ता गर्न लागेको स्रोतले जनाएको छ।
गृह प्रशासनले यसअघि नै आन्दोलनको आह्वान गरेका प्रसाईंलाई संवादका लागि आग्रह गर्दै सार्वजनिक विज्ञप्ति जारी गरेको थियो। त्यसको जवाफमा प्रसाईंले काठमाडौँका प्रमुख जिल्ला अधिकारी (सिडिओ) ईश्वरराज पौडेलमार्फत गृहमन्त्री अर्याललाई आफ्नो माग समेटिएको औपचारिक पत्र पठाएका थिए।
यस पत्राचारपछि, गृह मन्त्रालयले शान्तिपूर्ण निकास खोज्ने उद्देश्यका साथ प्रसाईंसँग वार्ताको तयारीलाई तीव्रता दिएको छ।
कहिले हुँदैछ वार्ता?
मन्त्रालयको उच्च स्रोत का अनुसार, दुर्गा प्रसाईंसँग आउँदो कात्तिक २६ गते कुराकानी गर्ने तयारी गरिएको छ। यो वार्तामा गृहमन्त्री अर्याल स्वयंले प्रसाईंका हिन्दु राष्ट्र र राजसंस्था फर्काउने लगायतका मागहरू, जसलाई लिएर उनले सडकमा आन्दोलन चर्काउने घोषणा गरेका छन्, सुन्ने कार्यक्रम छ।
सुरक्षा चुनौतीमाथि छलफल
प्रसाईंको आन्दोलनको घोषणापछि केही समयअघि सुरक्षा प्रमुखहरू बिच उच्चस्तरीय छलफल समेत भएको थियो। उक्त बैठकमा प्रसाईंको आन्दोलनले उत्पन्न गर्न सक्ने सम्भावित सुरक्षा चुनौती बारे गम्भीर विश्लेषण गरिएको थियो।
छलफलका क्रममा, आन्दोलनमा बाह्य घुसपैठ हुन सक्ने र यसले देशमा थप राजनीतिक अराजकता तथा अस्थिरता निम्त्याउन सक्ने जोखिमबारे समेत गहन समीक्षा गरिएको थियो। सरकार अहिले यही सम्भावित जोखिमलाई टार्नका लागि वार्ताको माध्यमबाट निकास खोज्न अग्रसर भएको देखिन्छ ।
© 2026 All right reserved to usnepaltoday.com | Site By : SobizTrend