काठमाडौँ, प्रधानमन्त्री सुशीला कार्कीले जेन–जी आन्दोलनपछि आयोजित ‘राष्ट्रिय आर्थिक बहस’ कार्यक्रममा मुलुकको आर्थिक पुनर्स्थापनामा सरकार पुर्णरूपमा समर्पित रहेको बताउनुभयो ।
कार्यक्रममा प्रधानमन्त्रीसँगै अर्थमन्त्री रामेश्वर खनाल, गृहमन्त्री ओमप्रकाश अर्याल, उद्योगमन्त्री अनिलकुमार सिन्हा, राष्ट्र बैंकका गभर्नर विश्वनाथ पौडेल र मुख्यसचिव एकनारायण अर्याल सहभागी थिए ।
प्रधानमन्त्री कार्कीले आन्दोलनले देशमा के सह्य र के असह्य भन्ने स्पष्ट सन्देश दिएको बताउँदै भ्रष्टाचार, दलगत लेबी र नीतिगत चलखेल अब स्वीकार्य नहुने स्पष्ट पारिन् । उहाँले इमानदार उद्यमीको सुरक्षा र विश्वास पुनःस्थापना गर्ने वाचा गर्नुभयो ।
अर्थमन्त्री खनालले निजी क्षेत्रका समस्या समाधानका लागि तत्कालीन सुधार थालिएको बताउँदै भन्सार प्रणाली र कर प्रशासनमा सुधारका काम भइरहेको जानकारी दिनुभयो ।
गृहमन्त्री अर्यालले तोडफोड र आगजनीका घटनामा संलग्नहरूविरुद्ध कानुनी कारबाही भइरहेको र सरकार सुरक्षा र सुशासनप्रति प्रतिबद्ध रहेको बताउनुभयो । उद्योगमन्त्री सिन्हाले निजी क्षेत्रले संकटमा पनि देखाएको सहकार्यको प्रशंसा गर्दै छिट्टै ठोस सुधारका परिणाम देखाउने प्रतिबद्धता व्यक्त गर्नुभयो । राष्ट्र बैंकका गभर्नर पौडेलले बैंकिङ प्रणालीमा पर्याप्त तरलता र स्थिर विदेशी मुद्रा भण्डार रहेको बताउँदै उद्योगीहरूलाई मनोबल उच्च राख्न आग्रह गर्नुभयो ।
मुख्यसचिव अर्यालले जेन–जी आन्दोलनले युवाको आकांक्षा र राज्य क्षमताबीचको अन्तर उजागर गरेको बताउँदै शासन र सेवामा निरन्तर सुधार आवश्यक रहेको उल्लेख गर्नुभयो ।
© 2026 All right reserved to usnepaltoday.com | Site By : SobizTrend