काठमाडौँ । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) चन्द्र कुबेर खापुङले भदौ २३ र २४ गतेका घटनामा प्रहरीलाई गोली हान्ने आदेश कसैले नदिएको, परिस्थितिले नै त्यस्तो अवस्था सिर्जना गरेको स्पष्ट पार्नुभएको छ।
इमेज च्यानल एचडीको कार्यक्रम ‘हटसिट’ मा बुधबार दिएको अन्तर्वार्तामा खापुङले भने, “मानिसको मृत्यु आफैंमा दुःखद् हो। हामीलाई पनि त्यो घटनाले निकै पीडा दिएको छ, म व्यक्तिगत रूपमा क्षमाप्रार्थी छु।”
उनका अनुसार संसद् भवन जस्ता महत्वपूर्ण संरचनाको सुरक्षा प्रहरीको कानुनी जिम्मेवारी भएकाले जब त्यहाँ आगजनी र घुसपैठ भयो, त्यसबेला प्रहरी बाध्य भएर बल प्रयोग गर्नुपर्यो। उनले भने, “गोली हान्ने आदेश कसैले दिएको होइन, तत्कालीन परिस्थितिले दिएको हो।”
आईजीपी खापुङले घटनामा तत्कालीन प्रधानमन्त्री र गृहमन्त्रीले गोली हान्ने आदेश दिएको भन्ने आरोप अस्वीकार गर्दै भने, “प्रधानमन्त्री वा गृहमन्त्रीले त्यस्ता आदेश दिँदैनन्। सबैले कानुनअनुसार आफ्नो कर्तव्य निर्वाह गर्छन्।”
उनले २३ भदौको घटनामा जेन–जी आन्दोलनका सहभागीहरूको भन्दा पनि “घुसपैठियाहरूको संलग्नता” रहेको दाबी गरे। उनका अनुसार, आन्दोलनकारीहरूले त्यस्तो हिंसात्मक कार्यक्रम योजना गरेको थिएन, तर घुसपैठीयाले संसद् भवनमा तोडफोड र आगजनी गराएपछि प्रहरीले प्रतिक्रिया दिनुपर्यो।
घटनाको अनुसन्धानका लागि बनेको उच्चस्तरीय छानबिन आयोगको प्रतिक्षा गर्नुपर्ने बताउँदै खापुङले प्रहरी पनि आन्तरिक रूपमा अनुसन्धान गरिरहेको जानकारी दिए। उनले भने, “अहिले नै कसको संलग्नता थियो भनेर भन्नु उचित हुँदैन, आयोगले निष्कर्ष निकाल्नेछ।”
खापुङले प्रहरीमाथि आक्रमण भएको र दर्जनौं प्रहरी चौकीहरूमा आगजनी तथा तोडफोड भएको उल्लेख गर्दै प्रहरीले जनताको सुरक्षाका लागि मात्रै काम गरेको बताए। उनले भने, “प्रहरीमाथि लाठी हानेर, घोचेर मारियो। हामीले जनताको सुरक्षा गर्न लडिरहेका थियौं, तर प्रहरी नै आक्रमणको निशानामा पर्यो।”
आईजीपी खापुङले आगामी फागुन २१ गते हुने निर्वाचनका लागि नेपाल प्रहरी पूर्ण तयारी अवस्थामा रहेको बताउँदै भने, “प्रहरीको मनोबल उच्च राख्न सरकार र नीति निर्माताहरूले स्पष्टता दिनुपर्छ। कानुनअनुसार जिम्मेवारी बहन गर्दा प्रहरीमाथि अनावश्यक छानबिन हुन नपाओस्।”

© 2026 All right reserved to usnepaltoday.com | Site By : SobizTrend