काठमाडौं। नायिका आना शर्माको मुख्य भुमिका रहेको नेपाली फिल्म ‘रमिताको पिरती’ आगामी माघ २३ गतेदेखि देशभरका हलहरूमा प्रदर्शनमा आउने भएको छ। बुधबार ललितपुरमा आयोजित पत्रकार सम्मेलनमा फिल्मको फस्टलुक (पहिलो झलक) सार्वजनिक गरिएको छ।
सुदिप्ताको निर्देशनमा तयार भएको यस फिल्ममा आना शर्मा ले ‘रमी’ नामक पात्रको भूमिका निभाएकी छन्। फिल्म रमीको जीवन, उसको प्रेम र सम्बन्ध वरिपरि घुम्ने कथामा आधारित छ।
फिल्ममा धिरज मगर, विनय श्रेष्ठ, र गायक समीर श्रेष्ठ को अभिनय पनि देख्न सकिन्छ। यो फिल्मबाट गायक समीर श्रेष्ठले नायकको रूपमा डेब्यु (पहिलो अभिनय) गर्दैछन्।
फस्टलुकमा आना शर्माका विभिन्न आकर्षक रूपहरू समावेश गरिएको छ। अभिनेत्री शर्माले ‘रमिताको पिरती’ अन्य फिल्मभन्दा भिन्न कथावस्तु भएको कारण आफु यस परियोजनासँग जोडिएको बताइन्।
फिल्मको निर्देशन सुदिप्ताले गरेका हुन्। सागर लम्साल निर्माता हुन् भने आना शर्मा र सन्तोष लम्साल कार्यकारी निर्माता रहेका छन्।
फिल्ममा सुशान्त केसी, समीर श्रेष्ठ, महेश काफ्ले, अस्मिता अधिकारी र कुशल पोखरेल को संगीत रहेको छ। शिशिर विशांखे डीओपी, सुनिल सिवाकोटी सम्पादक, कपिल पराजुली कलरिस्ट र कातिक बराल कोरियोग्राफर हुन्।
चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डीसीले कार्यक्रममा उपस्थित भई फिल्मले नेपाली सिनेमामा नयाँपन ल्याउने विश्वास व्यक्त गर्दै सफलताको शुभकामना दिएका छन्।
फिल्मलाई काठमाडौँमा रिच इन्टरटेन्मेन्ट र एप्पल इन्टरटेन्मेन्ट ले वितरण गर्नेछन् भने उपत्यका बाहिर एफडी कम्पनी ले वितरणको जिम्मा लिनेछ ।
© 2026 All right reserved to usnepaltoday.com | Site By : SobizTrend