काठमाडौँ — प्रधानमन्त्री सुशीला कार्कीले विवादास्पद क्याप्टेन कुलबहादुर (केबी) लिम्बुलाई नेपाल वायुसेवा निगमको महाप्रबन्धक चयन समितिमा ‘विज्ञ सदस्य’का रूपमा नियुक्त गरेकी छन् ।
लिम्बुको नाम निगमसँग जोडिँदा अघिल्ला वर्षका अनेकन विवादहरू पुनः स्मरण हुन्छन्— महाप्रबन्धक रहेका बेला साढे ४ करोड बराबरको फ्लाई–वे टुल किट हराउने, पाङ्ग्रा चोरी, किर्ते हस्ताक्षरमार्फत भर्ना लगायतका घटनाले उनको छवि विवादित बनाएको थियो।
५२ अर्ब ऋणमा डुबेको र बेथितिका कारण आलोचित रहेको निगमका लागि योग्य व्यवस्थापक खोज्ने उद्देश्यले सरकार गठन गरेको चयन समितिमा यस्तो विवादित व्यक्तिको समावेश हुँदा निगमभित्रै असन्तुष्टि देखिएको छ।
एक वरिष्ठ क्याप्टेनका अनुसार, “निगमसँग मुद्दा लडिरहेका व्यक्तिलाई समितिमा राखिनु कर्मचारीका लागि निराशाजनक र अनौठो निर्णय हो।” मन्त्रालयका उच्च अधिकारीहरू पनि प्रधानमन्त्री कार्यालयबाट लिम्बुको नाम सिफारिस भएपछि अचम्ममा परेका छन्।
लिम्बूले अघिल्ला समयमा पनि निगममा विभिन्न भूमिकामा काम गरेका थिए। उनले बेलायतमा सेफ्टी र व्यवस्थापन क्षेत्रमा काम गरेका थिए र २०६४ सालमा महाप्रबन्धक बनेका थिए। त्यसबेला पनि उनी कार्यकारी अध्यक्षसँगको विवादका कारण चर्चामा आएका थिए।
हाल उनी र निगमबीच करार तथा पारिश्रमिकसम्बन्धी मुद्दा अदालतमा विचाराधीन छ। निगमले केही महिना अघि नै उनलाई पदीय मर्यादा उल्लङ्घन गरेको भन्दै चेतावनी समेत दिएको थियो।
उड्डयन क्षेत्रका जानकारहरूले विवादास्पद इतिहास बोकेको व्यक्ति पुनः निगमसँग जोडिनु ‘सुधारभन्दा बढी जोखिमपूर्ण’ निर्णय भएको टिप्पणी गरेका छन्।
© 2026 All right reserved to usnepaltoday.com | Site By : SobizTrend