झापा । पुर्वपश्चिम राजमार्ग अन्तर्गत झापाको शिवसताक्षी नगरपालिका–१०, माईधार चोक नजिकै आज बिहान एक रात्रिबस दुर्घटना भएको छ। मन्थलीबाट काँकरभिट्टा गइरहेको प्र१–०१–००१ क ४२०९ नम्बरको बस अनियन्त्रित भई सडकबाट करिब १० मिटर तल पल्टिँदा बसमा सवार १९ जना यात्रु घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालयका अनुसार, बसमा कुल २५ जना यात्रु सवार थिए। घाइते १९ जनालाई तत्काल उपचारका लागि बिर्तामोडस्थित बिर्तासिटी अस्पताल पठाइएको छ। घाइतेहरूको अवस्था सामान्यदेखि मध्यम रहेको र उनीहरूको उपचार भइरहेको प्रहरीले जनाएको छ। बाँकी ६ जना यात्रु भने सकुशल गन्तव्यतर्फ लागेका छन्।
दुर्घटनामा बस चालक झापा मेचीनगर–६ का ३९ वर्षीय राजु भुजेल सहित झापा, रामेछाप र दोलखाका यात्रुहरू घाइते भएका छन्। बस अनियन्त्रित भई पल्टिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। घटनास्थलमै रहेको बसले गर्दा सडकमा यातायात आवागमनमा भने कुनै अवरोध आएको छैन।

© 2026 All right reserved to usnepaltoday.com | Site By : SobizTrend