काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघले ‘जेनजी आन्दोलन’का क्रममा उद्योग, व्यवसाय र निजी सम्पत्तिमाथि भएको तोडफोड, लुटपाट र आगजनीमा संलग्न व्यक्तिहरूमाथि छानबिन गरी कडा कारबाही गर्न सरकारलाई आग्रह गरेको छ।
महासंघले यस्तो घटनाका पीडित व्यापारीहरूले उजुरी दर्ता गर्न नसकेको गुनासो आएको भन्दै, यसले दण्डहीनता बढाउने र व्यवसायी हतोत्साहित हुने चेतावनी दिएको छ।
विज्ञप्तिमा भनिएको छ, “यी घटनाले निजी क्षेत्रको मनोबल कमजोर पार्नुका साथै रोजगारी, राजस्व संकलन र लगानी प्रवर्द्धनमा दीर्घकालीन असर पुर्याउने खतरा देखिएको छ।”
महासंघले व्यवसायीहरूको सुरक्षाका लागि केन्द्रदेखि जिल्ला स्तरसम्मका सुरक्षा समितिमा उद्योग वाणिज्य महासंघका प्रतिनिधि समावेश गर्न पनि माग गरेको छ। यसबारे गृह मन्त्रालयमा औपचारिक पत्राचार गरिएको महासंघले जनाएको छ।
महासंघका कार्यवाहक अध्यक्ष अञ्जन श्रेष्ठले शान्ति–सुरक्षा बिना स्थायित्व सम्भव नभएको र स्थायित्वबिना उद्यम सञ्चालन हुन नसक्ने बताए। त्यस्तै, निवर्तमान अध्यक्ष शेखर गोल्छाले लगानीको वातावरण बलियो बनाउन सरकारको सक्रियता आवश्यक रहेको उल्लेख गरे।
छलफलमा उपाध्यक्ष हेमराज ढकाल, ज्योत्सना श्रेष्ठ, कोषाध्यक्ष भरतराज आचार्यलगायत स्थायी समिति र फोरमका सभापतिहरू सहभागी थिए।
© 2026 All right reserved to usnepaltoday.com | Site By : SobizTrend