बुधबार, साउन १३ २०८३

१३ साउन २०८३ , बुधबार | July 29, 2026 Wednesday

दुर्गा प्रसाईंको आन्दोलनबारे सुरक्षा निकायहरूको ब्रिफिङ, भाडामा मान्छे ल्याएर भिड जम्मा गर्न सक्ने आशंका

दुर्गा प्रसाईंको आन्दोलनबारे सुरक्षा निकायहरूको ब्रिफिङ, भाडामा मान्छे ल्याएर भिड जम्मा गर्न सक्ने आशंका

41
Shares
41
Shares

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंले कात्तिक १५ पछि घोषणा गरेको आन्दोलनलाई लिएर उत्पन्न सुरक्षा चुनौतीबारे चारै सुरक्षा निकायका प्रमुखहरूले शनिबार सरकारलाई विस्तृत ब्रिफिङ गरेका छन् । प्रधानमन्त्री सुशीला कार्की, गृहमन्त्री ओमप्रकाश अर्याल र गृहसचिव रामेश्वर दंगालसँगको छलफलमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका प्रमुखहरूले आन्दोलनको तयारी, सम्भावित जोखिम र अहिलेको अवस्थाबारे प्रतिवेदन प्रस्तुत गरे ।

छलफलमा सुरक्षाप्रमुखहरूले प्रसाईं समुहले भाडामा मान्छे जम्मा पारेर ठुलो भिड उतार्नसक्ने र अराजकता भड्किन सक्ने जोखिम औंल्याएका थिए। खासगरी, गत १५ चैतमा भएको तीनकुने घटनाको उदाहरण दिँदै यस्ता गतिविधि फेरि नदोहोरियोस् भन्नेर निगरानी बढाउन र विशेष सतर्कता अपनाउन आग्रह गरियो ।

बैठकमा प्रधानमन्त्री कार्कीले सकेसम्म संवादबाट समाधान खोज्न तथा प्रसाईं समुहसँग छलफल गर्न गृह मन्त्रालयलाई निर्देशन दिइन्। गृहमन्त्री अर्यालले पनि हिंसात्मक आन्दोलन नगर्न, वार्ता र संवादका माध्यमबाट समस्या समाधान गर्न सबै पक्षसँग अपिल गरे।

सुरक्षा निकायहरूले प्रसाईं समूहका गतिविधि, अभिव्यक्ति तथा सामाजिक सञ्जालमा गरेका सम्पर्कहरूमाथि निगरानी बढाएका छन्। भोलिका दिनमा आन्दोलन हिंसात्मक बन्ने अवस्था आएमा कडा रूपमा प्रस्तुत हुने तयारी रहेको बैठकमा बताइएको छ।

सरकारले सबै पक्षलाई वार्तामा आउन अनुरोध गर्दै सार्वजनिक शान्ति, मताधिकार र राष्ट्रिय हितमा प्रतिकुल असर नपर्न आग्रह गरेको छ। गृह मन्त्रालयले निर्वाचनको वातावरण बिगार्ने वा अराजकता निम्त्याउने कुनै पनि गतिविधि नगर्न सचेत गराएको छ।

  • प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    सम्बन्धित समाचार

    © 2026 All right reserved to usnepaltoday.com | Site By : SobizTrend