बुधबार, साउन १३ २०८३

१३ साउन २०८३ , बुधबार | July 29, 2026 Wednesday

निर्धारित समयमै नयाँ संसद् भवन निर्माण गर्न मन्त्री घिसिङको निर्देशन

निर्धारित समयमै नयाँ संसद् भवन निर्माण गर्न मन्त्री घिसिङको निर्देशन

34
Shares
34
Shares

काठमाडौं । सहरी विकासमन्त्री कुलमान घिसिङले सिंहदरबार परिसरमा निर्माणाधीन सङ्घीय संसद् भवनलाई निर्धारित समयभित्रै सम्पन्न गर्न निर्देशन दिएका छन् ।

निर्माणाधीन भवनको शनिबार (आज) अवलोकन गरेपछि उनले ठेकेदार कम्पनीलाई हरेक दिनको कार्यतालिका बनाएर निर्माण कार्यमा तीव्रता दिन आग्रह गरे ।

मन्त्री घिसिङले भने, “पाँचौँ पटक म्याद थप गर्दा ठेकेदारका तर्फबाट आगामी पुस १६ गतेभित्र निर्माण सम्पन्न गर्ने प्रतिबद्धता आएको छ, उक्त समयभित्रै निर्माण सम्पन्न गर्न गम्भीर भएर काम गर्नुपर्छ ।”

हालै भएको ‘जेनजी’ प्रदर्शनका क्रममा नयाँ बानेश्वरस्थित पुरानो सङ्घीय संसद् भवनमा क्षति पुगेको र यसले गर्दा राष्ट्रियसभा बैठक सञ्चालनमा समस्या आएको उल्लेख गर्दै मन्त्री घिसिङले नयाँ भवन छिटो आवश्यक भएको बताए ।

“पुरानो संसद् भवनमा जेनजी प्रदर्शनका क्रममा आगजनी भएर क्षति पुगेको छ । राष्ट्रियसभा बैठक चलाउनुपर्ने छ,” उनले भने, “आगामी निर्वाचनपछि प्रतिनिधिसभा बैठक पनि बस्नुपर्छ । हाल क्षतिग्रस्त संसद् भवनलाई बैठक सञ्चालन योग्य बनाउन समय लाग्छ । त्यसैले नयाँ संसद् भवन छिटो भन्दा छिटो सम्पन्न गर्नुपर्छ ।”

सो अवसरमा ठेकेदार कम्पनीका प्रतिनिधिहरूले अहिलेसम्म ८७ प्रतिशत काम सम्पन्न भइसकेको र अहिले भवनभित्र ‘फिनिसिङ’को काम भइरहेको जानकारी दिए । कतिपय निर्माण सामग्री विदेशबाट ल्याउनुपर्ने भएकाले केही ढिलाइ भएको जनाउँदै ठेकेदार कम्पनीले बाँकी काम आगामी पुस १६ गतेसम्म सम्पन्न गर्ने गरी आफूहरू लागिपरेको बताएका थिए । सिंहदरबार परिसरभित्र १५७ रोपनी क्षेत्रफलमा नयाँ संसद् भवन निर्माण भइरहेको छ ।

  • प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    सम्बन्धित समाचार

    © 2026 All right reserved to usnepaltoday.com | Site By : SobizTrend