काठमाडौं । काठमाडौंको स्वयम्भु क्षेत्रमा प्रहरीले स्रोत नखुलेको ६९ लाख ८५ हजार रुपैयाँसहित एक जना चिनियाँ नागरिक र एक जना नेपाली युवतीलाई पक्राउ गरेको छ।
पक्राउ पर्नेहरूमा ३८ वर्षीय चिनियाँ नागरिक जियाओ याङ र धादिङको नीलकण्ठ नगरपालिका निवासी २२ वर्षीया रोजिना सुनार रहेका छन् । उनीहरूलाई बिहीबार पक्राउ गरी आज (शुक्रबार) सार्वजनिक गरिएको हो।
काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) दानबहादुर कार्कीले उक्त घटनाको पुष्टि गर्दै भने, “स्रोत नखुलेको ठूलो रकमसहित एक चिनियाँ र एक नेपाली नागरिकलाई पक्राउ गरिएको छ। उनीहरूविरुद्ध थप अनुसन्धान भइरहेको छ।”
एआईजी कार्कीका अनुसार, पक्राउ परेकाहरूले भाडामा लिएको कोठाबाट प्रहरीले नगद रकमसँगै केही सुनका गहनाहरू समेत बरामद गरेको छ। प्रहरीले उक्त रकम र गहनाको स्रोत पत्ता लगाउन अनुसन्धान अघि बढाएको जनाएको छ ।
© 2026 All right reserved to usnepaltoday.com | Site By : SobizTrend