महोत्तरी । तिहार सकिएसँगै तराई-मधेससहित देशैभरि श्रद्धापुर्वक मनाइने प्रमुख पर्व छठ को तयारी सुरु भएको छ।
मिथिला क्षेत्रको यो मुख्य पर्वका लागि महोत्तरीका नदी, पोखरी तथा तलाउहरूमा घाट निर्माण र सरसफाइको कामले तीव्रता पाएको छ। सूर्यदेव र छठी माताको पुजा पानीमै गरिने भएकाले जलाशय वरपरका खाल्डाखुल्डी पुर्ने र बाटो मर्मत गर्ने काम भइरहेको छ ।
स्थानीय संस्कृतिविद्का अनुसार, छठ पर्वलाई निष्ठा र श्रद्धाको प्रतीक मानिन्छ, जसका कारण मिथिलावासीहरू एक हप्ताअघिदेखि नै यसको तयारीमा जुट्छन्।
महोत्तरीको जलेश्वर नगरपालिका-८ स्थित पाठक पोखरीमा विशेष तयारी स्वरूप पोखरीको बीचमा बाँस र काठ प्रयोग गरी मन्दिर र मन्दिरसम्म पुग्न पानीमा तैरिने बाटो बनाइँदैछ। साथै, ५०० मिटरसम्म गुफाजस्तो देखिने पंडाल र आकर्षक बत्ती जडानको काम पनि भइरहेको छठ पूजा समितिले जनाएको छ।
जलेश्वरको बरुण सरोवरसहित जिल्लाका मटिहानी, गौशाला, औरही, बलवा, लोहारपट्टीलगायतका स्थानका नदीकिनारहरूमा पनि भव्य पंडाल निर्माण तथा रंगीन साजसज्जाको काम धमाधम भइरहेको छ।
© 2026 All right reserved to usnepaltoday.com | Site By : SobizTrend