काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले विगतको लोडसेडिङ अवधिमा डेडिकेटेड तथा ट्रंक लाइनबाट बिजुली प्रयोग गरेर प्रिमियम महसुल (बक्यौता) नबुझाएका उद्योगहरूको विद्युत् लाइन काट्न सुरु गरेको छ।
प्राधिकरणले मंगलबार बिहान जगदम्बा स्टील, रिलायन्स स्पिनिङ मिल्स, शिवम् सिमेन्ट, घोराही सिमेन्ट, अर्घाखाँची सिमेन्ट इन्डष्ट्रिज र त्रिवेणी स्पिनिङ मिल्सको लाइन काटेको छ।
यी उद्योगहरूले २०७२ माघदेखि २०७५ वैशाखसम्म डेडिकेटेड तथा ट्रङ्क लाइन प्रयोग गरेबापतको थप महसुल तिर्न बाँकी रहेको छ। सबैभन्दा बढी जगदम्बा स्टीलको १ अर्ब ६० करोड रुपैयाँ बक्यौता छ। यसैगरी, रिलायन्स स्पिनिङ मिल्सको ७५ करोड ३७ लाख, शिवम् सिमेन्टको ७७ करोड ८८ लाख, घोराही सिमेन्टको ५० करोड ८५ लाख, अर्घाखाँची सिमेन्टको ४४ करोड ८४ लाख र त्रिवेणी स्पिनिङ मिल्सको ३२ करोड १० लाख रुपैयाँ बक्यौता रहेको छ।
नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक मनोज सिलवालले तिहारको सार्वजनिक बिदामा समेत बक्यौता रकम तिर्नका लागि उद्योगहरूका लागि काउन्टरको व्यवस्था गरिएको जानकारी दिनुभयो। उहाँका अनुसार, किस्ताबन्दीको सुविधा लिएर पहिलो किस्ता तिर्नेबित्तिकै जुनसुकै समयमा पनि काटिएको लाइन तुरुन्तै जोडिनेछ।
© 2026 All right reserved to usnepaltoday.com | Site By : SobizTrend