बुधबार, साउन १३ २०८३

१३ साउन २०८३ , बुधबार | July 29, 2026 Wednesday

“जीवनको अनमोल यात्रा” आत्मकथाकृति र “सुख त सपनै भो” म्युजिक भिडियो लोकार्पित

“जीवनको अनमोल यात्रा” आत्मकथाकृति र “सुख त सपनै भो” म्युजिक भिडियो लोकार्पित

45
Shares
45
Shares

काठमाडौँ । साहित्यिक पत्रकार सङ्घद्वारा हिजो यहाँ आयोजित विशेष कार्यक्रममा वरिष्ठ गायिका मथुरा प्रधान श्रेष्ठको आत्मकथाकृति “जीवनको अनमोल यात्रा” र म्युजिक भिडियो “सुख त सपनै भो”को लोकार्पण भयो । सो कृतिको प्रमुख अतिथि वरिष्ठ कवि तुलसी दिवस र मन्चासीन विशिष्ट व्यक्तिहरूले लोकार्पण गर्नुभएको थियो । लोकार्पणपछि म्युजिक भिडियोको प्रदर्शन पनि गरियो ।

कार्यक्रममा प्रमुख अतिथि तुलसी दिवसले मथुरा प्रधान श्रेष्ठ आफ्नो विद्यार्थी भए पनि स्रष्टाका रूपमा उनको आफ्नै उचाइ भएको बताए । उनले भने, “साहित्यकारहरूले लेखनबाट, सङ्गीतकर्मीहरूले सङ्गीत र गायनबाट र कलाकर्मीहरूले कुचीका माध्यमबाट विश्वमा आफ्नो देशलाई चिनाइरहेका हुन्छन् ।”

वरिष्ठ समालोचक प्रमोद प्रधानले मथुरा श्रेष्ठ प्रधानले दीप श्रेष्ठ र गोपाल योन्जनजस्ता सङ्गीतजगतका विशिष्ट साधकहरूको अभिभावकत्व पाउनु आफैँमा उल्लेखनीय भएको बताउनुभयो । उहाँले आत्मवृत्तान्तमा पाइने इमानदारीको प्रशंसा पनि गर्नुभयो ।

अर्का वक्ता कवि एवं पत्रकार शकुन्तला जोशीले सरल र सहज भाषामा लेखिएको यो कृतिले लेखकको सङ्घर्षलाई राम्ररी प्रस्तुत गरेको धारणा राख्नुभयो ।

अध्यक्षको आसन ग्रहण गर्नु भएका साहित्यिक पत्रकार सङ्घका अध्यक्ष राधेश्याम लेकालीले कार्यक्रमको उद्देश्यमाथि प्रकाश पार्दै प्रतिभाहरूलाई अगाडि ल्याउने कार्यमा साहित्यिक पत्रकार सङ्घले ५४ वर्षदेखि काम गर्दै आइरहेको चर्चा गर्नुभयो ।

कृतिकार मथुरा श्रेष्ठले आफ्नो साङ्गीतिक लगाव, सङ्घर्ष र सहयोगीहरूबारे बताउँदै यात्रामा सघाउनेहरू सबैप्रति आभार व्यक्त गर्नुभयो ।

कार्यक्रममा वरिष्ठ आख्यानकार पद्मावती सिंह र चलचित्र निर्देशक प्रकाश सायमीले शुभकामना मन्तव्य राख्नुभएको थियो भने वरिष्ठ इतिहासविद् डा. सुरेन्द्र के.सी., कवि एवम् आख्यानकार उषा शेरचन, पूर्व राजदूत महेश मास्के र ओम अस्पतालका अध्यक्ष डा. आनन्द श्रेष्ठको पनि उपस्थिति थियो ।

कार्यक्रममा मथुरा प्रधान श्रेष्ठका श्रीमान् प्रदीप श्रेष्ठले धन्यवाद ज्ञापन गर्नुभएको थियो भने कार्यक्रमको सहजीकरण कवि सविता श्रेष्ठ “बेहोसी”ले गर्नु भएको थियो ।

सुरुमा प्रमुख अतिथि तुलसी दिवसले गमलामा जल सिंचन गरी कार्यक्रमको उद्घाटन गर्नुभएको थियो ।

  • प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    सम्बन्धित समाचार

    © 2026 All right reserved to usnepaltoday.com | Site By : SobizTrend