काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले आफूलाई उपहारस्वरूप प्राप्त भएको महँगो रोलेक्स घडी सामाजिक सञ्जालमार्फत सार्वजनिक गर्नुभएको छ।
सञ्चार तथा सुचना प्रविधिमन्त्री जगदीश खरेलले महँगो रोलेक्स घडी लगाएको चर्चा चलिरहेका बेला शिक्षामन्त्री पुनले आइतबार साँझ सामाजिक सञ्जाल फेसबुकमा आफुसँग भएको रोलेक्स घडीको तस्बिरसहितको अनुभव बाँड्नुभएको हो ।
मन्त्री पुनले घडी सार्वजनिक गर्दै लेख्नुभएको छ, “यो रोलेक्स घडी अस्ति भर्खरै ताप्लेजुङ जिल्लामा किताब बेच्दै जाँदा सुकेटार निवासी एक जना वृद्ध दम्पतीले फुङलिङ बजारमा मैले लिन नमान्दा पनि जबरजस्ती दिनु भयो।”
रोलेक्स घडीको हालको चर्चातर्फ सङ्केत गर्दै उहाँले थप लेख्नुभएको छ, “मैले लगाएर हिँडेको भएत बर्बादै हुने रहेछ नि। धन्न झोलामा राखेर बचिएछ।”
मन्त्री पुनले आफूले यसअघि पनि रोलेक्स घडी पाएको अनुभव सुनाउनुभएको छ। उहाँले लेख्नुभएको छ, “३ वर्ष पहिला पनि युकेमा बस्ने एक जना साथीले रोलेक्स घडी दिएका थिए । त्यसलाई मैले फेसबुक मै राखेर बेचिदिएँ ।”

तर, यसपटक ताप्लेजुङमा पाएको घडीको हकमा भने तत्काल नबेच्ने सङ्केत गर्दै उहाँले भन्नुभएको छ, “तर यो अहिलेको घडी तुरुन्तै बेच्दिनँ। गाह्रो छ हौ म भट्भटे मन्त्रीलाई ।”
मन्त्री पुनले आफु ग्रामीण क्षेत्रमा शिक्षाको लागि स्रोत जुटाउन व्यक्तिगत रूपमा पुस्तक बेच्ने अभियानमा सक्रिय रहँदै आउनुभएको छ। उहाँको यो अभिव्यक्ति महँगा विलासी वस्तुहरूलाई लिएर सार्वजनिक वृत्तमा चलिरहेको बहसको एक रोचक प्रतिउत्तरका रूपमा आएको छ ।
© 2026 All right reserved to usnepaltoday.com | Site By : SobizTrend