काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले महानगर प्रवेश गरेपछि हालसम्म करिब २३ अर्ब रुपियाँ मुल्य बराबरको २०८ रोपनीभन्दा बढी सार्वजनिक जग्गा सफलतापुर्वक फिर्ता ल्याइएको घोषणा गर्नुभएको छ । मेयर शाहले सामाजिक सञ्जालमार्फत सार्वजनिक जग्गा अतिक्रमण हटाउने अभियानको प्रगति विवरण र भावी योजनाबारे विस्तृत जानकारी गराउनु भएको हो ।
२ खर्बको सम्पत्ति फिर्ता ल्याउने लक्ष्य
मेयर शाहले पुर्वसचिव रामबहादुर रावलको अध्यक्षतामा गठित आयोगको प्रतिवेदनलाई नीति आधार मानेर अब करिब २ खर्ब रुपियाँ मुल्य बराबरको १ हजार ८५९ रोपनी १४ आना अतिक्रमण भएको जग्गा पुनः सार्वजनिक उपयोगमा ल्याउने लक्ष्यसहित कार्यान्वयन समिति गठन गरिएको जानकारी दिनुभयो । यो समितिले भोलिदेखि आफ्नो कार्य प्रारम्भ गर्नेछ ।
फिर्ता ल्याइएको जग्गाको उपयोग
महानगरपालिकाले ‘सार्वजनिक सम्पत्तिमा जनताको पहुँच वृद्धि गर्ने’ नीति अन्तर्गत फिर्ता ल्याइएका जग्गाहरूलाई पुनः कब्जामा जान नदिन खुला पार्क, खेलकुद मैदान, स्केटबोर्ड पार्क, सत्तल, हरित क्षेत्र, र सार्वजनिक उपयोगका स्थलहरूका रूपमा विकास गरिरहेको छ । यसै क्रममा अतिक्रमित केही खोला कोरिडोरहरू समेत खाली गरिएका छन् ।
अतिक्रमणमा नीति निर्माणकर्ताकै संलग्नता
रावल आयोगले तयार पारेको प्रतिवेदनले सहरी क्षेत्रमा अवस्थित बहुमूल्य सरकारी र सार्वजनिक सम्पत्तिहरूको दुरुपयोगमा समाजका ठुला भनिएका नीति निर्माणकर्ताहरूकै संलग्नता रहेको प्रष्ट देखाएको मेयर शाहले उल्लेख गर्नुभएको छ । महानगरले यस्ता कार्य विरुद्ध चालु आर्थिक वर्षको नीति, कार्यक्रम र बजेटमै पुनः प्राप्तिको कार्यलाई उच्च प्राथमिकतामा राखेको छ ।

नागरिकलाई सहयोगको अपिल
मेयर शाहले यो अभियान महानगरपालिकाको प्रयासले मात्र सफल नहुने भन्दै यसलाई सफल पार्न महानगरभित्रका सम्पूर्ण नागरिक, सरोकारवाला निकाय, समुदाय र संस्थाहरूलाई पुर्ण सहयोग र सहकार्यका लागि हार्दिक अनुरोध गर्नुभएको छ । उहाँले कुनै व्यक्ति, संघ–संस्था वा समूहले सार्वजनिक सम्पत्ति अतिक्रमण गरेको जानकारी भएमा महानगरपालिकाको सहरी व्यवस्थापन विभागमा खबर गर्न समेत अनुरोध गर्नुभएको छ ।
मेयर शाहका अनुसार यो सङ्घर्ष सार्वजनिक जग्गा अतिक्रमणमुक्त बनाउन मात्र नभई सार्वजनिक सम्पत्तिमा सर्वसाधारणको पहुँच, उपभोग गर्ने अधिकार तथा स्वाभिमानको रक्षाका लागि पनि हो ।

© 2026 All right reserved to usnepaltoday.com | Site By : SobizTrend