गाजा: आतङ्कवादी समुह हमासको सैन्य शाखा अल-कसम ब्रिगेडले एक विज्ञप्ति जारी गर्दै नेपाली विद्यार्थी विपिन जोशीसहित चार जना बन्धकको मृत्यु भएको पुष्टि गरेको छ। समुहले उनीहरूको मृत्यु गाजामा इजरायलले गरेको हवाई आक्रमणका क्रममा भएको दाबी गरेको छ।
हमासले मृत्यु भएका चार जना बन्धकका शवहरू आज (सोमबार) नै इजरायली पक्षलाई फिर्ता गर्ने घोषणा गरेको छ । फिर्ता गरिने शवहरूमा जोशीका साथै इजरायली नागरिकहरू गाई इलोज, योसी शाराबी र ड्यानियल पेरेट्ज रहेका छन् ।
अल-कसम ब्रिगेडले जनाएअनुसार अन्तर्राष्ट्रिय रेड क्रसको समन्वयमा शवहरू इजरायललाई हस्तान्तरण गरिनेछ । इजरायली सुरक्षा अधिकारीहरूले पनि रेड क्रसमार्फत शव प्राप्त गर्ने तयारी भइरहेको जानकारी दिएका छन् ।
हमासको यो कदमलाई ‘होस्टेज एण्ड मिसिङ फोरम’ (Hostage and Missing Forum) ले ‘पीडादायी भए पनि महत्त्वपुर्ण’ भनेको छ। समुहले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘यी परिवारहरूले अन्ततः आफ्ना प्रियजनहरूको अन्तिम अवस्था थाहा पाउनेछन्, यद्यपि त्यो सत्य अत्यन्त कठोर छ ।’
इजरायलमा कृषि अध्ययन गर्न गएका नेपाली विद्यार्थी विपिन जोशीलाई हमासले गत वर्ष अक्टोबर ७ को आक्रमणका क्रममा बन्धक बनाएको थियो । उनको अवस्थाबारे अनिश्चितता रहँदै आएकोमा हमासले पहिलो पटक मृत्युको औपचारिक पुष्टि गरेको हो ।
© 2026 All right reserved to usnepaltoday.com | Site By : SobizTrend