बुधबार, साउन १३ २०८३

१३ साउन २०८३ , बुधबार | July 29, 2026 Wednesday

मेयर बालेनको घोषणा: भद्रकाली मन्दिर नेवारी परम्परागत शैलीमा पुनरुत्थान हुँदै, यसै वर्षभित्र सम्पन्न गर्ने लक्ष्य

मेयर बालेनको घोषणा: भद्रकाली मन्दिर नेवारी परम्परागत शैलीमा पुनरुत्थान हुँदै, यसै वर्षभित्र सम्पन्न गर्ने लक्ष्य

74
Shares
74
Shares

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले भद्रकाली मन्दिरको जीर्णोद्धार कार्य मौलिक परम्परागत नेवारी शिल्प र शैलीमा तीव्र गतिमा भइरहेको जानकारी दिएका छन्। यो परियोजना महानगरपालिकाको सम्पदा विभागको इतिहासमै सबैभन्दा ठुलो परियोजना हो ।

सम्पदा विभागले कार्यान्वयन गरेको यस मन्दिर पुनर्निर्माण योजनालाई चालु आर्थिक वर्षभित्रै सम्पन्न गर्ने लक्ष्य राखिएको छ। यसका लागि अहिले दैनिक बिहान ६ बजेदेखि बेलुकी ६ बजेसम्म दुई सिफ्टमा काम भइरहेको छ।

पुनर्निर्माण कार्य २०८१ असार २७ गतेदेखि सुरु भएको थियो । योजनाको भौतिक प्रगति हालसम्म करिब ५० प्रतिशत पुगिसकेको छ । दक्षिण ब्लक (नेपाली सेनाको पेट्रोल पम्पतिरका तीन भवन) छानासम्म पुगिसकेका छन् र अब भित्री (इन्टेरियर) काम मात्र बाँकी छ । उत्तर ब्लकमा रहेका दुई संरचनामध्ये ‘बी ब्लक’ पहिलो तल्ला पुरा भई दोस्रो तल्लासम्म पुगेको छ। ‘ए ब्लक’ मा देखिएको सामान्य विवाद समाधानका लागि छलफल भइरहेको छ । दुवैतर्फका ब्लकहरूमा अधिकतम दुई तल्ला र बुइँगल रहनेछन् ।

मन्दिरको पुनर्निर्माणमा सिमेन्ट र रडको प्रयोग पुर्ण रूपमा निषेध गरिएको छ । निर्माणमा परम्परागत चुना–सुर्की मात्र प्रयोग गरिएको छ । नेपाली सालको काठ प्रयोग गरिएको छ भने प्रयोग योग्य पुराना काठलाई पनि पुनः प्रयोग गरिएको छ । कुँदिएका बुट्टेदार ढोका, झ्याल र थाम लगायतका परम्परागत निर्माण सामाग्री प्रयोग गरिएका छन् । छानामा झिँगटी प्रयोग गरिएको छ । पुरानो खम्बा र बुट्टाका ढाँचालाई आधार मानेर नयाँ बुट्टाहरू कुँदिएका छन् र भंगेरा बस्ने परम्परागत “चखुं प्वाः” समेत राखिएको छ । काठ तथा इँटाको गुणस्तरको जाँच पुलचोक इन्जिनियरिङ क्याम्पसको प्रयोगशालामा परीक्षणपश्चात् गरिएको छ।

घोडे जात्रालाई ध्यानमा राखेर याक: फल्चा (एक्लो फल्चा) निर्माण भइरहेको छ । वरपरका सत्तलहरूको पुनर्निर्माण सँगै सुरक्षा पर्खाल (कम्पाउन्ड वाल) पनि निर्माण गरिनेछ । सम्पुर्ण भवनको क्षेत्रफल ३९ हजार वर्ग फिट हुनेछ । पुनर्निर्माणपश्चात् यो स्मारक महानगरपालिकासँगै नेपालकै पहिचानयुक्त स्मारक र धार्मिक, सामाजिक कार्यका लागि आकर्षक गन्तव्य बन्ने विश्वास गरिएको छ ।

२०७२ सालको भुकम्पले जीर्ण बनेका मन्दिर परिसरका पश्चिम, उत्तर र दक्षिणतर्फका पाटी, सत्तललगायत भवनहरूलाई यस योजनामार्फत पुनर्निर्माण गरिँदैछ । यसको कुल लागत ३४ करोड ८० लाख ७१ हजार रुपियाँ रहेको छ । सार्वजनिक खरिद प्रक्रियाबाट निर्माण पक्षसँग २०८१ जेठ ६ गते सम्झौता गरिएको थियो । भत्काइएका संरचनाबाट संकलित सामग्रीलाई पुरातत्त्व विभाग, गुठी संस्थान र लुमधि: भद्रकाली व्यवस्थापन समितिसहितको सहजीकरण समितिले व्यवस्थापन गरिरहेको छ ।

मेयर बालेनले अन्त्यमा, काठमाडौँको सांस्कृतिक सभ्यतालाई यस्ता स्मारकहरूमार्फत पुनरुत्थान गर्ने कार्यमा सबैको रचनात्मक सहयोग प्रति कृतज्ञता व्यक्त गरेका छन् ।

  • प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    सम्बन्धित समाचार

    © 2026 All right reserved to usnepaltoday.com | Site By : SobizTrend