बुधबार, साउन १३ २०८३

१३ साउन २०८३ , बुधबार | July 29, 2026 Wednesday

सम्पत्ति छानबिनलाई लिङ्देनको समर्थन: नेताका परिवारसम्म दायरा बढाउन माग

सम्पत्ति छानबिनलाई लिङ्देनको समर्थन: नेताका परिवारसम्म दायरा बढाउन माग

36
Shares
36
Shares

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले राजनीतिक नेताहरूको सम्पत्ति छानबिन सुरु भएको समाचारको स्वागत गर्दै यस विषयमा आफ्नो पार्टीले लामो समयदेखि आवाज उठाउँदै आएको बताएका छन् ।

अध्यक्ष लिङ्देनले नेताहरूको सम्पत्ति छानबिनको प्रक्रिया सुरु भएकोमा खुसी व्यक्त गर्दै यो विषय केवल नेताहरूको सम्पत्तिमा मात्र सीमित नराखी छानबिनको दायरा विस्तार गर्नुपर्ने माग गरेका छन् ।

“नेताहरूको सम्पत्ति छानबिन हुनुपर्छ भन्ने आवाज राप्रपाले सदन र सडकमा लामो समयदेखि उठाउँदै आएको हो। यो प्रक्रिया सुरु हुनु राम्रो खबर हो,” अध्यक्ष लिङ्देनले भने, “तर यो छानबिन केवल नेताहरूमा मात्र सीमित राख्नु हुँदैन।”

उनले सम्पत्ति छानबिनको कार्यलाई थप प्रभावकारी बनाउन परिवारका सदस्यहरू, नातेदारहरू, र नेताहरूसँग निकट सम्बन्ध भएका व्यक्तिहरूसम्म पनि विस्तार गर्नुपर्नेमा जोड दिएका छन्।

लिङ्देनका अनुसार, उच्च राजनीतिक पदमा पुगेका व्यक्तिहरूले आफ्नो नाममा भन्दा पनि परिवारका सदस्य वा नजिकका व्यक्तिहरूको नाममा सम्पत्ति लुकाउने प्रवृत्ति रहेकाले निष्पक्ष र प्रभावकारी छानबिनका लागि यो कदम आवश्यक छ।

“यदि साँच्चिकै मुलुकमा सुशासन कायम गर्ने हो र भ्रष्टाचार नियन्त्रण गर्ने हो भने, नेताका परिवार, नातेदार र उनीहरूसँग नजिक रहेका सबैको सम्पत्तिमाथि छानबिन गरिनुपर्छ,” उनले थप स्पष्ट पारे ।

राप्रपा अध्यक्ष लिङ्देनले सम्पत्ति छानबिनको यो प्रक्रियालाई हतारमा सुरु गरेर बिचमै रोकिन नदिई निष्कर्षमा पुर्‍याउनुपर्ने र दोषी पाइएका जो कोहीलाई पनि कारबाहीको दायरामा ल्याउनुपर्ने बताए ।

  • प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    सम्बन्धित समाचार

    © 2026 All right reserved to usnepaltoday.com | Site By : SobizTrend