काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता तथा सांसद ज्ञानेन्द्र शाहीले आफ्नो चरित्र हत्या गर्ने समाचार लेखेको भन्दै एक अनलाइन पत्रकारमाथि गम्भीर आरोपसहित खुला चुनौती दिनुभएको छ। शाहीले सामाजिक सञ्जाल (फेसबुक) मार्फत ती पत्रकारलाई ‘हत्यारो’ को संज्ञा दिँदै उनीहरूसँग प्रमाण पेश गर्न माग गर्नुभएको छ ।
सांसद शाहीले आफ्नो स्टाटसमा पत्रकारिताको नाममा पेट पाल्ने हतियार बनाउँदै ‘घटिया काम गर्ने’ व्यक्तिलाई पत्रकार नभई ‘समाजको अपराधी’ भएको टिप्पणी गर्नुभएको छ।
के हो विवादको विषय?
सांसद शाहीका अनुसार, अनलाइन पत्रिकाले प्रकाशित गरेको समाचारसँग सम्बन्धित छ । ती पत्रकारले ज्ञानेन्द्र शाहीले ‘होटल एभरेस्ट’का कर्मचारीलाई धम्काएको’ र कर्मचारीले ‘कठालो समातेर निकालेको’ भन्दै चरित्र हत्या गर्ने समाचार लेखेको शाहीको भनाइ छ । शाहीले ब्रेकलाइन मिडियाका पत्रकारसँग होटल एभरेस्टका कर्मचारीले अन्तर्वार्ताको भिडियो खिच्ने क्रममा ‘यतातिर नखिचौं, उतातिर खिचौं’ भनेर गरिएको एउटा सामान्य छलफल लाई आधार बनाएर गलत समाचार बनाएको बताउनुभएको छ ।
सांसद शाहीले ती पत्रकारलाई निकै गम्भीर पुर्व घटनासँग जोड्दै ‘हत्यारो’ को संज्ञा दिनुभएको छ। उहाँले लेख्नुभएको छ, “”पैसा कमाउनको लागि नायिका शिर्षा कार्कीलाई बाथरूमभित्र छिरेर नाङ्गो फोटो खिचेर पत्रिकामा छापेर आत्महत्या गर्न बाध्य पार्ने एउटा हत्यारो आफैंलाई पत्रकार भन्ने आजभोलि पेट पाल्नलाई एउटा अनलाइन पत्रिका चलाएको छ।”
शिर्षा कार्कीको आत्महत्या प्रकरणमा ती पत्रकारको संलग्नता वा भुमिकातर्फ इशारा गर्दै शाहीले यसलाई पत्रकारिताको आडमा गरिएको अपराध भएको जनाउनुभएको छ । शाहीले आफुमाथि लागेको धम्की तथा दुर्व्यवहारको आरोप पुष्टि गर्न ती पत्रकारलाई खुला चुनौती दिनुभएको छ । “यदि तिमीसँग प्रमाण छ भने होटलका कर्मचारीलाई मैले धम्काएको, होटलका कर्मचारीले मेरो कठालो समातेर निकालेको पेश गर। तिमीले जता बोलाउँछौ म त्यतै आउँछु खुला चुनौती हो।”
शाहीले ती पत्रकारलाई राजनीतिक अस्थिरताको फाइदा लिएर आफ्नो पद र पहुँच बढाएको आरोप पनि लगाउनुभएको छ। उहाँले ती पत्रकार एमालेका अध्यक्ष केपी ओलीको कार्यकर्ता हुँदै माओवादीमा प्रचण्डको प्रिय पात्र बन्दै प्रेस काउन्सिलको अध्यक्ष समेत भएको स्मरण गराउनुभएको छ।
सांसद शाहीले व्यक्तिगत लाभका लागि अर्काको चरित्र हत्या नगर्न चेतावनी दिँदै पत्रकारिताको नाममा गरिने यस्ता घटिया कामले सम्पूर्ण पत्रकारिता पेशाकै मानमर्दन गरेको बताउनुभएको छ।
© 2026 All right reserved to usnepaltoday.com | Site By : SobizTrend