काठमाडौं । ‘जेनजी आन्दोलन’ बाट चर्चामा आएको ‘हामी नेपाल’ का अध्यक्ष सुदन गुरुङको समुहले पुर्वप्रधानमन्त्री केपी शर्मा ओली र पुर्वगृहमन्त्री रमेश लेखकविरुद्ध जाहेरी दर्ता गर्न दबाब दिएपछि र प्रहरीलाई धम्क्याएपछि सुरक्षा संयन्त्रमा गम्भीरता बढेको छ ।
सोमबार, गुरुङको समुह ओली र लेखकलाई तत्काल पक्राउ गर्नुपर्ने मागसहित किटानी जाहेरी लिएर जिल्ला प्रहरी परिसर काठमाडौं पुगेको थियो। प्रहरीले भने उक्त जाहेरी दर्ता गर्न इन्कार गर्यो ।
प्रहरीले किन गरेन जाहेरी दर्ता?
प्रहरीले जाहेरी दर्ता नगर्नुको मुख्य कारण गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगले ‘जेनजी आन्दोलन’ को घटनाबारे छानबिन गरिरहेको बताइन्छ ।
बालुवाटारस्थित उच्च स्रोतका अनुसार, प्रहरी महानिरीक्षक (आईजीपी) चन्द्रकुवेर खापुङले जाहेरी दर्ता गरेमा ‘मुठभेड निम्त्याउने’ जोखिम रहेको भन्दै चासो व्यक्त गरेका छन् ।
उनले प्रधानमन्त्रीबाट मुठभेड भएमा वा गोली चलेमा त्यसको ‘सबै जिम्मा लिने गरी लिखित आदेश’ आए मात्र जाहेरी लिने अडान लिएको स्रोतको दाबी छ।
बालुवाटारमा उच्चस्तरीय सुरक्षा बैठक
गुरुङ समूहले प्रहरीलाई धम्क्याएपछि उत्पन्न भएको गम्भीर सुरक्षा चुनौतीलाई लिएर प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा उच्चस्तरीय बैठक बस्यो। उक्त बैठक राति अबेरसम्म चलेको थियो।
बैठकमा प्रधानमन्त्री सुशीला कार्की, गृहमन्त्री ओमप्रकाश अर्याल, आईजीपी खापुङ, दुईजना अतिरिक्त महानिरीक्षक (एआईजी) दानबहादुर कार्की र मनोज केसी लगायत गृह मन्त्रालयका उच्च अधिकारीहरू सहभागी थिए।
प्रहरीको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो, ‘अहिले आयोगले काम गरिरहेको बेला सरकार यसरी अघि बढ्ने हो भने कुनै पनि सरकारी निकायले काम गर्न सक्दैन। भोलि मुठभेड भएमा र प्रहरीबाट गोली चलेमा त्यसको जिम्मेवारी लिने निकाय कुन हो भन्ने स्पष्ट आदेश र जानकारी चाहिन्छ।’
गुरुङको धम्की र ‘हाइ अलर्ट’
जाहेरी दर्ता गर्न प्रहरीले नमानेपछि सुदन गुरुङले प्रहरीलाई ‘सडकबाटै देखाइदिन्छौँ’ भन्दै धम्क्याएको बताइएको छ। गुरुङको टोलीले जाँचबुझ आयोगमा पनि पुगेर धम्क्याएको स्रोतको दाबी छ।
यस घटना र सुरक्षामा गम्भीर चुनौती उत्पन्न भएपछि काठमाडौं प्रहरी परिसरले आफ्ना सबै वृत्तलाई ‘हाइ अलर्ट’ मा राखेको छ । प्रहरीको जोड ‘अहिले मुलुकलाई मुठभेडमा लैजाने हो भने मात्रै उजुरी दर्ता गरौँ, होइन भने आयोगलाई शान्तिपूर्ण रूपमा आफ्नो काम गर्न दिऔँ’ भन्नेमा रहेको स्रोतले जनाएको छ।
© 2026 All right reserved to usnepaltoday.com | Site By : SobizTrend