काठमाडौं । सगरमाथाको उत्तरी (तिब्बती) मोहडातर्फको पदयात्रा क्षेत्रमा अचानक मौसम बिग्रिएर भारी हिमपात हुँदा सयौँ पर्यटकहरू फसेका छन्। चिनियाँ सरकारी सञ्चारमाध्यमहरूका अनुसार फसेका करिब ३५० जना पदयात्रीहरूलाई उद्धारकर्मीहरूले सुरक्षित स्थानमा पुर्याएका छन् ।
हिमपातमा फसेका अन्य २०० भन्दा बढी पर्यटक तथा पथप्रदर्शकहरूसँग सम्पर्क भइसकेको छ र उनीहरूलाई सुरक्षित स्थानमा सार्ने काम जारी छ । सगरमाथाको पुर्वी मोहडातर्फ जाने तिब्बतको कर्मा उपत्यका यो घटनाबाट सबैभन्दा बढी प्रभावित बनेको छ। यो क्षेत्र समुद्री सतहबाट ४,९०० मिटरभन्दा अधिकको उचाइमा रहेको छ।
अक्टोबर महिनालाई सामान्यतया सगरमाथा क्षेत्रको यात्राका लागि उत्कृष्ट समय मानिन्छ, जब मौसम सफा र सामान्य हुन्छ। तर, यस वर्ष शुक्रबारदेखि सुरु भएको तीव्र हिमपातलाई पथप्रदर्शकहरूले ‘वर्षको यो समयमा भएको असामान्य हिमपात’ को संज्ञा दिएका छन् ।
उद्धार गरिएका एक पदयात्रीले रोएटर्स समाचारसंस्थालाई बताएअनुसार, हिमाली क्षेत्र ‘निकै चिसो र ओसिलो’ भएकाले फसेका मानिसहरूमा ‘हाइपोथर्मिया (Hypothermia)’ को वास्तविक जोखिम देखिएको थियो । भारी हिमपातका कारण स्थानीय अधिकारीहरूले उक्त क्षेत्रमा शनिबारदेखि पर्यटक प्रवेशमा रोक लगाएका छन्।
पर्यटकको उद्धारका निम्ति उद्धारकर्मीका साथै स्थानीय गाउँलेहरू पनि खटिएका छन्। सामाजिक सञ्जालमा आएका तस्बिर तथा भिडियोहरूमा पालहरू हिउँले पुरिएको र उद्धार कार्य चलिरहेको देखिन्छ । चीनमा यसै सप्ताहान्तबाट आठ दिने राष्ट्रिय बिदा सुरु भएको छ। बिदाको यो समयमा उक्त क्षेत्रमा उल्लेख्य संख्यामा आन्तरिक तथा बाह्य पर्यटकहरू जाने गर्छन् । उद्धारकर्ताहरूले अवरुद्ध बाटो र सडकहरू हुँदै फसेका पर्यटकहरूको समूहलाई सुरक्षित स्थानतर्फ जान सघाइरहेका छन्।
© 2026 All right reserved to usnepaltoday.com | Site By : SobizTrend