बुधबार, साउन १३ २०८३

१३ साउन २०८३ , बुधबार | July 29, 2026 Wednesday

बाढी प्रभावितलाई काठमाडौं महानगरको आश्रय र राहत व्यवस्था; २४सै घण्टा हेल्पलाइन सेवा

बाढी प्रभावितलाई काठमाडौं महानगरको आश्रय र राहत व्यवस्था; २४सै घण्टा हेल्पलाइन सेवा

50
Shares
50
Shares

काठमाडौँ । अविरल वर्षाका कारण उपत्यकामा आएको बाढी तथा डुबान बाट प्रभावित भएका नागरिकहरूको उद्धार, सुरक्षित आश्रय र राहतका लागि काठमाडौँ महानगरपालिकाले वृहत् व्यवस्थापन गरिरहेको छ।

महानगरपालिकाले जोखिममा रहेका परिवारका लागि करिब ७० वटा सामुदायिक विद्यालयलाई तत्काल आपतकालीन आश्रयस्थल (Shelter) को रूपमा प्रयोग गर्ने व्यवस्था मिलाएको छ।

हालसम्म चारवटा विद्यालयमा बाढीबाट जोखिममा परेका मानिसहरूलाई स्थानान्तरण गरी सुरक्षित आश्रय दिइएको छ।

विश्व निकेतन मा.वि., त्रिपुरेश्वर: ७० जना
गुह्येश्वरी मा.वि., थापाथली: ५२ जना
जन विकास मा.वि., कुलेश्वर: ५२ परिवारका २५१ जना
महेन्द्र सरस्वती आ.वि., टेकु: २० जना

आश्रय लिइरहेका मानिसहरूका लागि खाना (सुख्खा खानेकुरा), शौचालय, पानी लगायतका आधारभूत सुविधाहरू महानगरपालिकाले उपलब्ध गराइरहेको छ। महानगर प्रहरीमार्फत तत्कालका लागि खाद्यान्नको व्यवस्था गरिएको छ भने शिक्षा विभागले सबै विद्यालयलाई थप आवश्यक व्यवस्थापन गर्न निर्देशन दिएको छ।

उद्धार र सहयोगका लागि २४/७ संयन्त्र
महानगरले बाढी र डुबानको जोखिममा रहेका बस्ती, बासिन्दा र भौतिक सम्पत्ति जोगाउन जनशक्ति, स्रोत-साधन र उपकरणहरू पूर्ण रूपमा परिचालन गरेको छ। अधिकारीहरू जोखिमयुक्त क्षेत्रमा नियमित रूपमा खटिएका छन्।

बाढीका कारण समस्यामा पर्नुभएका व्यक्तिहरूले तत्काल उद्धार र सहायता का लागि महानगरपालिकाको हेल्पलाइन नम्बर मा सम्पर्क गर्न सक्नेछन् । सम्पर्क गर्नेबित्तिकै महानगरले उद्धार गरी सुरक्षित स्थानमा पुर्‍याउने व्यवस्था गर्ने जनाएको छ।

आपतकालीन सहायताका लागि सम्पर्क नम्बरहरू: १६६००१०५५१, ९८५१३५६५०९, ०१-५९०१७६४, ०१-५९०१७६३

वर्षा नरोकिएको र जोखिम कायमै रहेकाले अत्यावश्यक काम नपरी घरबाहिर ननिस्कन महानगरपालिकाले सम्पूर्ण नगरवासीमा अपिल गरेको छ।

  • प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    सम्बन्धित समाचार

    © 2026 All right reserved to usnepaltoday.com | Site By : SobizTrend