काठमाडौँ । नेपालमा हाल सक्रिय रहेको वर्षा गराउने मौसमी प्रणाली आइतबार बिहानबाट पूर्वतर्फ सर्ने र सोमबारबाट मत्थर हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। तर, आइतबार बिहानसम्म भने अत्यन्त सतर्क रहन आग्रह गरिएको छ।
बङ्गालको खाडीबाट विकसित भई नेपाल प्रवेश गरेको यो प्रणालीले शनिवार बेलुकी ७-८ बजेदेखि आइतबार बिहान ८ बजेसम्म भारी वर्षा गराउने प्रक्षेपण विभागले गरेको छ। विशेष गरी राति १० बजेदेखि २ बजेसम्म अति भारी वर्षा को सम्भावना रहेको विभागका महानिर्देशक कमलराम जोशीले बताउनुभएको छ।
विशेष सतर्कता क्षेत्र:
सुनसरी, उदयपुर, सप्तरी, सिराहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, सिन्धुली, दोलखा, काठमाडौँ, ललितपुर, भक्तपुर, मकवानपुर, चितवन र आसपासका जिल्लाहरूलाई विशेष ध्यान दिनुपर्ने जिल्लाको सुचीमा राखिएको छ । आइतबार बिहानबाट प्रणाली पुर्वतिर सर्ने र सोमबार बिहानदेखि मत्थर भएर पानी कम पर्ने तथा मनसुनको पनि बहिर्गमन हुने विभागको भनाइ छ।
सार्वजनिक बिदा र आवागमन बन्द
गृह मन्त्रालयले वर्षाका कारण उत्पन्न हुनसक्ने जोखिमलाई मध्यनजर गर्दै असोज १९ र २० गते (आइतबार र सोमबार) देशभर सार्वजनिक बिदा दिने निर्णय गरेको छ। अत्यावश्यक काम नपरी घर बाहिर ननिस्कन मन्त्रालयले अनुरोध गरेको छ।
राष्ट्रिय विपद् जोखिम न्युनीकरण तथा व्यवस्थापन प्राधिकरणले कोशी, मधेस, बाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका सबै जिल्लाबाट चल्ने तथा काठमाडौँ उपत्यका भित्रिने र बाहिरिने लामो दुरीका सवारीसाधन असोज १८, १९ र २० गतेसम्मका लागि बन्द गरिएको सुचना जारी गरेको छ।
मन्त्री घिसिङको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री कुलमान घिसिङले शनिवार उच्च अधिकारीहरूसँग बैठक गरी आम जनतालाई अत्यन्त सतर्क रहन अनुरोध गर्नुभएको छ । उहाँले विशेष गरी काठमाडौँ भित्र नदी छेउछाउ बस्नेहरूलाई राति थप सतर्कता अपनाउन र सम्बन्धित सरकारी निकायका कर्मचारीहरूलाई तयारी अवस्थामा रहन निर्देशन दिनुभएको छ । सोमबारपछि तत्काल सडक सञ्जाल पुनर्स्थापना गर्न तयारी गर्नसमेत उहाँले आह्वान गर्नुभएको छ ।
© 2026 All right reserved to usnepaltoday.com | Site By : SobizTrend