शारजाह । वेस्ट इन्डिज ‘ए’ विरुद्धको तेस्रो तथा अन्तिम खेलमा टस हारेर पहिले ब्याटिङ गरिरहेको नेपालले १३ ओभरमा दुई महत्त्वपुर्ण विकेट गुमाएर ८३ रन बनाएको छ । शृंखला क्लिन स्वीप गर्ने लक्ष्यका साथ मैदानमा उत्रिएको नेपालले आफ्ना दुवै ओपनर कुशल भुर्तेल र कुशल मल्ललाई गुमाएको हो ।
युएईको शारजाह क्रिकेट स्टेडियममा जारी खेलमा नेपालका लागि पहिलो पटक सिनियर टोलीबाट ओपनिङ गर्न आएका कुशल मल्ल र कुशल भुर्तेलले ब्याटिङको सुरुवात गरेका थिए। यो जोडीले पावरप्लेको पहिलो ६ ओभरमा कुनै विकेट नगुमाई ३७ रन जोड्दै टोलीलाई सानदार सुरुवात दिलाएको थियो ।
तर, सातौँ ओभरको अन्तिम बलमा नेपालले पहिलो विकेट गुमाउन पुग्यो । आक्रामक देखिएका कुशल मल्ल २१ बलमा १ चौकासहित १२ रन बनाएर विकेटकिपरको हातबाट क्याच आउट भए । उनको विकेट खस्दा नेपालको स्कोर ४१ रन थियो ।
त्यसअघि, अर्का ओपनर कुशल भुर्तेलले २६ रनमा जीवनदान पाएका थिए। ६.४ ओभरमा जेसन होल्डरको बलमा ठूलो सट खेल्ने प्रयासमा उनको क्याच एलनले छोडेका थिए। जीवनदानको फाइदा उठाउँदै आक्रामक ब्याटिङ गरेका भुर्तेलले २९ बलमा २ चौका र ३ छक्का प्रहार गर्दै ३९ रनको महत्त्वपूर्ण योगदान दिए। तर, १० औँ ओभरको पाँचौँ बलमा उनी स्लिपमा क्याच आउट भए। उनको विकेटसँगै नेपालले ६० रनमा दोस्रो विकेट गुमायो ।
हाल क्रिजमा कप्तान रोहित पौडेल ७ रन र गुल्सन झा शून्य रनमा अविजित छन्। रोहितले पनि ९.३ ओभरमा ७ रनको व्यक्तिगत स्कोरमा अकेल होसेनको बलमा जीवनदान पाएका थिए, जब होसेनको अपिलमा अम्पायरले उक्त बललाई ‘नो बल’ करार दिए ।
स्मरण रहोस्, नेपालले पहिलो खेलमा वेस्ट इन्डिज ‘ए’ लाई १९ रन र दोस्रो खेलमा ९० रनले पराजित गर्दै शृंखला २-० ले आफ्नो पक्षमा पारिसकेको छ ।
© 2026 All right reserved to usnepaltoday.com | Site By : SobizTrend