बुधबार, साउन १३ २०८३

१३ साउन २०८३ , बुधबार | July 29, 2026 Wednesday

नेपाल-चीन सम्बन्धको ७०औँ वर्षगाँठमा ‘चाइना भ्लगर मिट २०२५’ सम्पन्न

नेपाल-चीन सम्बन्धको ७०औँ वर्षगाँठमा ‘चाइना भ्लगर मिट २०२५’ सम्पन्न

58
Shares
58
Shares

काठमाडौँ । नेपाल र चीनबिच स्थापित कूटनीतिक सम्बन्धको ७०औँ वार्षिकोत्सवको अवसरमा काठमाडौँमा ‘चाइना भ्लगर मिट २०२५’ भव्यताका साथ सम्पन्न भएको छ । मंगलबार होटेल क्राउन इम्पेरियलमा आयोजित यस विशेष कार्यक्रममा दुवै देशका चर्चित भ्लगर, डिजिटल स्टोरी टेलर र कन्टेन्ट क्रिएटरहरूको उत्साहजनक सहभागिता रहेको थियो ।

कार्यक्रमको मुख्य उद्देश्य डिजिटल माध्यमबाट दुई देशबिचको सांस्कृतिक आदानप्रदान, पर्यटन प्रवर्द्धन र जनस्तरको सम्बन्धलाई थप प्रगाढ बनाउनु थियो । सहभागीहरूले भ्लगिङ र डिजिटल मिडियाको भविष्य, सहकार्यका अवसरहरू र सांस्कृतिक कुटनीतिलाई बलियो बनाउने विषयमा गहन छलफल गरे ।

कार्यक्रमलाई सम्बोधन गर्दै बागमती प्रदेशका पर्यटन तथा संस्कृति मन्त्री सुरेश श्रेष्ठले नेपाल-चीन मित्रताको ७० वर्षको यात्रामा डिजिटल क्रिएटरहरूले नेपालको सांस्कृतिक वैभवलाई विश्वमाझ पुर्‍याएर सीमा पार सम्बन्धलाई अझ मजबुत बनाएको बताउनुभयो। त्यसै गरी, नेपाल पर्यटन बोर्डका निर्देशक सुनिल शर्माले यस्ता कार्यक्रमले दुई देशबिच पर्यटन प्रवर्द्धन गर्ने साझा प्रतिबद्धतालाई उजागर गरेको धारणा राख्नुभयो।

कार्यक्रममा नेपाल पर्यटन बोर्डका उपाध्यक्ष कमल सापकोटा, ट्रेकिङ एजेन्सी एसोसिएसन अफ नेपाल (टान) का अध्यक्ष सागर पाण्डे र पर्यटन विज्ञ डा. आलोक प्रसाईं लगायत पर्यटन क्षेत्रका विशिष्ट व्यक्तिहरूको उपस्थिति थियो ।

चीनबाट आएका चर्चित भ्लगरहरू लङ केयु, वाङ लिली, लेइ केक्सिन लगायतको टोलीले कार्यक्रममा विशेष आकर्षण थपेको थियो। उनीहरूले नेपाली क्रिएटरहरूसँग आफ्ना अनुभव साटासाट गर्दै पर्यटन, जीवनशैली र संस्कृति प्रवर्द्धन गर्ने सामग्री निर्माणमा कसरी सहकार्य गर्न सकिन्छ भन्नेबारे अन्तरक्रिया गरेका थिए ।

यो मिटले डिजिटल आवाजलाई सशक्त बनाउँदै नेपाल र चीनबिच रचनात्मक साझेदारीको नयाँ अध्याय सुरु गर्ने साझा दृष्टिकोणसहित समापन भएको छ ।

  • प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    सम्बन्धित समाचार

    © 2026 All right reserved to usnepaltoday.com | Site By : SobizTrend