बुधबार, साउन १३ २०८३

१३ साउन २०८३ , बुधबार | July 29, 2026 Wednesday

ओलीको राहदानी रोक्का र बस्नेतमाथि अनुसन्धानको निर्णयमा युवा संघको आपत्ति

ओलीको राहदानी रोक्का र बस्नेतमाथि अनुसन्धानको निर्णयमा युवा संघको आपत्ति

79
Shares
79
Shares

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष तथा पुर्वप्रधानमन्त्री केपी शर्मा ओलीको राहदानी रोक्का गर्ने र पार्टीका नेता महेश बस्नेतमाथि अनुसन्धान अघि बढाउने सरकारी निर्णयको राष्ट्रिय युवा संघ नेपालले कडा शब्दमा आपत्ति जनाएको छ ।

शुक्रबार एक प्रेस विज्ञप्ति जारी गर्दै युवा संघले भदौ २३ र २४ गतेका घटनाहरूको छानबिन गर्न गठित जाँचबुझ आयोगले पर्याप्त प्रमाणबिना नै प्रारम्भिक चरणमा ओलीको राहदानी रोक्का गर्न गरेको सिफारिस लोकतान्त्रिक मूल्य र मान्यताविपरीत भएको बताएको छ । संघले सबुत प्रमाणबिना नै कसैलाई अपराधीको रूपमा व्यवहार गर्नु अनुचित र पुर्वाग्रहपूर्ण कदम भएको ठहर गरेको छ ।

“राष्ट्रका लागि आफ्नो जीवन समर्पित गरेका व्यक्तित्वमाथि यस्तो निर्णय गर्नु अत्यन्तै हल्का र अराजनीतिक कार्य हो,” संघले विज्ञप्तिमा भनेको छ ।

यसैगरी, नेता बस्नेतमाथि मुद्दा चलाउने तयारी भइरहेको भन्ने समाचारप्रति पनि संघले आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । सरकारलाई प्रतिशोधको राजनीतिबाट टाढा रहन र यस्ता गतिविधिहरू नगर्न संघले आग्रह गरेको छ ।

विज्ञप्तिमा गृह मन्त्रालयले सोही घटनामा संलग्न केही व्यक्तिहरूलाई कारबाही नगर्ने भनी गरेको निर्णयको पनि आलोचना गरिएको छ । यस्तो कदमले दण्डहीनतालाई प्रोत्साहन गर्ने र कानूनी राज्यको सिद्धान्तको उपहास गर्ने संघको भनाइ छ ।

युवा संघले ‘जेन-जी’ आन्दोलनका मागहरूप्रति आफूहरू सचेत रहेको बताउँदै आउँदो फागुन २१ गते हुने प्रतिनिधिसभाको चुनाव शान्तिपूर्ण, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गराउन सरकारलाई सहयोग गर्ने प्रतिबद्धता पनि व्यक्त गरेको छ । तर, सरकार आफ्नो मुख्य जिम्मेवारीबाट विचलित भएर राजनीतिक प्रतिशोधमा लागेको आरोप संघले लगाएको छ ।

अध्यक्ष क्षितिज थेवेद्वारा हस्ताक्षरित विज्ञप्तिमा राष्ट्रिय युवा संघ नेपालले लोकतन्त्र, बहुदलीय व्यवस्था र नागरिक अधिकारको पक्षमा निरन्तर संघर्ष गर्दै आएको र भविष्यमा पनि यही बाटोमा दृढतापूर्वक अघि बढ्ने उल्लेख गरिएको छ ।

  • प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    सम्बन्धित समाचार

    © 2026 All right reserved to usnepaltoday.com | Site By : SobizTrend