बुधबार, साउन १३ २०८३

१३ साउन २०८३ , बुधबार | July 29, 2026 Wednesday

गोरखा दरबारमा हर्षबढाइँका साथ फुलपाती भित्रियो

गोरखा दरबारमा हर्षबढाइँका साथ फुलपाती भित्रियो

50
Shares
50
Shares

गोरखा । बडादसैँको सातौँ दिन फुलपातीको अवसरमा गोरखा दरबारस्थित दसैँघरमा आज (सप्तमीका दिन) विधिपुर्वक फुलपाती भित्र्याइएको छ ।

गोरखाकाली मन्दिरका मुख्य पुरोहित शारदाप्रसाद भट्टराईका अनुसार साँझको शुभसाइतमा हर्षबढाइँका साथ फुलपातीलाई दरबारको दसैँघरमा प्रवेश गराइएको हो । परम्परा अनुसार, गोरखा दरबारबाट बाजागाजा र झाँकीसहितको टोलीले तल्लोकोटस्थित फुलपाती चौताराबाट फुलपाती लिएर आएको थियो ।

गोरखामा फुलपाती भित्र्याउनका लागि विशेष समय निर्धारण गरिएको हुन्छ । यो समय पश्चिम क्षेत्रको डाँडामा सुर्य आधा डुबेको र आधा देखिएको अवस्थामा हुन्छ । फुलपाती लिनका लागि दरबारका सुसारे, नेपाली सेना, नेपाल प्रहरी, सरकारी कर्मचारी र स्थानीयवासीको टोली राति नै तल्लोकोटको पिपल डाँडा पुगेका थिए।

जङ्गलबाट ल्याइएका दारिक, बेलको पात, उखुको बोट, केराको पात, अदुवाको बोट र मौसमी फलफूललाई फूलपातीको रूपमा दसैँघरमा भित्र्याइएको पुरोहित भट्टराईले जानकारी दिए । दरबारमा फुलपाती भित्र्याउनुअघि मङ्गलिनीहरूले मङ्गलगीत तथा मालश्री राग गाउँदै हर्षबढाइँ गरेका थिए । फुलपाती पर्सने सिँढीमा विशेष पुजा गरेर मात्र दरबारभित्र प्रवेश गराइएको हो ।

स्मरण रहोस्, आज बिहान गोरखा दरबारको दसैँघरबाट परम्पराअनुसार काठमाडौँको हनुमान ढोका दरबारका लागि पनि फुलपाती पठाइएको थियो ।

  • प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    सम्बन्धित समाचार

    © 2026 All right reserved to usnepaltoday.com | Site By : SobizTrend