भक्तपुर । नेकपा (एमाले) ले देशको विकसित राजनीतिक घटनाक्रमका बारेमा छलफल गर्नका लागि असोज २७, २८ र २९ गते पार्टी केन्द्रीय कमिटीको बैठक बोलाएको छ। आज गुण्डुमा बसेको केन्द्रीय सचिवालयको बैठकले यो निर्णय गरेको हो।
पार्टीका उपमहासचिव प्रदीप ज्ञवालीका अनुसार केन्द्रीय कमिटीका एजेन्डा तय गर्न असोज १९ र २० गते फेरि सचिवालयको बैठक डाकिएको छ। ज्ञवालीले राष्ट्रिय महाधिवेशन चाँडै गर्ने विषयमा पनि केन्द्रीय कमिटीले निर्णय लिन सक्ने संकेत दिए।
उपमहासचिव ज्ञवालीले भदौ २३ र २४ गतेका घटनाको जाँचबुझ गर्न बनेको आयोगले पार्टी अध्यक्ष केपी शर्मा ओलीको राहदानी रोक्का गरेको समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको बताए।
उनले गृह मन्त्रालयबाट मिडिया ट्रायल गराएर गरिएको यस्तो निर्णयले आयोगको विश्वसनीयतामा प्रश्न उठेको उल्लेख गरे । ज्ञवालीले सरकारले राजनीतिक दलहरूलाई बाइपास गरेर वा निषेध गरेर जान खोजेको आरोप लगाए। उनले भने, “सरकारले राजनीतिक दलहरुलाई पन्छाउन खोजेको मात्र नभइ निषेध गरेको, दलहरुलाई सम्पर्क, संवाद आदि गर्न नचाहेको देखिएको छ। यी सबै घटनाप्रति हामी गम्भीर र चिन्तित छौँ ।”
जेनजी आन्दोलन र तोडफोडका घटनामा एमालेको माग
सचिवालय बैठकले जेनजी आन्दोलनका क्रममा निधन भएकाहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरेको छ।
यसैगरी, आन्दोलनका दोषी तथा तोडफोड र आगजनीमा संलग्नलाई कानुनी कारबाहीको दायरामा ल्याउन पनि बैठकले माग गरेको छ। ज्ञवालीले सरकारले भदौ २३ र २४ गतेको आगजनी र तोडफोडमा संलग्नलाई पक्राउ नगर्न दिएको निर्देशनले नेपाल प्रहरीको अपराध अनुसन्धान गर्ने क्षेत्राधिकारमा हस्तक्षेप गरेको र दोषीहरूको मनोबल बढाएको बताए।
उनले कतिपय नेताहरूलाई भौतिक आक्रमणको धम्की आएको उल्लेख गर्दै सरकारको नियतमाथि प्रश्न उठाए। बैठकपछि पत्रकारहरूसँग ज्ञवालीले भने, “कतिपय व्यक्तिहरू पुराना राजनीतिक दलहरूलाई चुनावमा जानै दिन्नौँ भन्दैछन्। के यस्तो कुराले चुनावको सुनिश्चिता गर्दछ? यस प्रकारले गराइएको चुनावले वैधता पाउँछ ?”
© 2026 All right reserved to usnepaltoday.com | Site By : SobizTrend