काठमाडौँ । धरान उपमहानगरपालिकाका मेयर हर्कराज राई (हर्क साम्पाङ) ले नयाँ राजनीतिक दल दर्ताका लागि निर्वाचन आयोगमा औपचारिक निवेदन दिएका छन् । उनले आफ्नो दलको नाम ‘श्रम संस्कृति पार्टी’ राख्ने निर्णय गर्दै सेप्टेम्बर २३ का दिन आयोगमा निवेदन दर्ता गरेका हुन् ।
निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार साम्पाङ नेतृत्वको दल दर्ताका लागि पेश गरिएको निवेदन आयोगमा दर्ता भइसकेको छ । भट्टराईले भने, “श्रम संस्कृति पार्टी नाममा आएको निवेदन अहिले प्रारम्भिक समीक्षा चरणमा छ । निवेदनसँगै पेश गरिएका कागजात कानुनअनुसार पुरा भए/नभएको जाँच भइरहेको छ।”
चुनाव चिन्ह ‘माटो’
यस पार्टीको चुनाव चिन्हको रूपमा ‘माटो’ लाई तोकिएको छ। मेयर साम्पाङका अनुसार, ‘माटो’ चिन्ह आधारभुत, स्थानीय र धरातलीय मुद्दाहरूसँग जोडिएको प्रतीक हो। यसले आम नागरिकको जीवन र सङ्घर्षलाई प्रतिविम्बित गर्ने उनको भनाइ छ।
कानुनअनुसार, नयाँ दलको निवेदन पेस भएको मितिले ४५ दिनभित्र आयोगले आवश्यक प्रक्रिया पूरा गरी दर्ता प्रमाणपत्र दिनुपर्ने व्यवस्था छ। त्यसैले आगामी असोजको अन्तिम वा कार्तिक सुरुमा श्रम संस्कृति पार्टी आधिकारिक रूपमा दर्ता हुने सम्भावना रहेको आयोग स्रोतले जनाएको छ।

हर्क साम्पाङको पार्टीसँगै अर्को नयाँ दल ‘नेपाल नागरिक पार्टी’ पनि आयोगमा दर्ता प्रक्रियामा प्रवेश गरेको छ। उक्त दलका संयोजक वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारी रहेको आयोगले जनाएको छ।
चुनाव नजिकिँदै, नयाँ दल दर्तामा चहलपहल
सरकारले आगामी फागुनमा निर्वाचनको मिति घोषणा गरेसँगै नयाँ दल दर्ता गर्ने क्रम बढेको देखिएको छ। विभिन्न नेताहरू र समूहहरूले नयाँ दल बनाएर निर्वाचनमा सहभागी हुने तयारी गरेका छन्।
हर्क साम्पाङको श्रम संस्कृति पार्टीले श्रम, संस्कृतिको जगेर्ना र स्थानीय मुद्दाहरूलाई आफ्नो मुख्य एजेन्डा बनाउने बताइएको छ। पार्टीले निर्वाचनमा कुन स्तरबाट प्रतिस्पर्धा गर्ने भन्ने विषय भने खुलाएको छैन।
© 2026 All right reserved to usnepaltoday.com | Site By : SobizTrend