भक्तपुर । नेकपा (एमाले) ले अध्यक्ष केपी शर्मा ओलीसहित शीर्ष नेताहरूको राहदानी रोक्ने सरकारको तयारीप्रति कडा आपत्ति जनाएको छ। यस विषयमा छलफल गर्न पार्टीले असोज २७, २८ र २९ गते केन्द्रीय कमिटी बैठक बोलाउने निर्णय गरेको छ।
आज भक्तपुरको गुण्डुमा बसेको सचिवालय बैठकले बैठकका एजेन्डा तय गर्न असोज १९ र २० गते पुनः सचिवालय बैठक बस्ने जनाएको छ। उपमहासचिव प्रदीप ज्ञवालीका अनुसार केन्द्रीय कमिटी बैठकमा आसन्न राष्ट्रिय महाधिवेशनसम्बन्धी निर्णय पनि हुने छ ।
ज्ञवालीले ओलीको राहदानी रोक्नेबारे आएको समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको बताए। उनका अनुसार गृह मन्त्रालयले मिडियामार्फत समाचार चुहाएर छानबिन आयोगकै विश्वसनीयतामा प्रश्न उठाएको छ ।
‘सरकारले दलहरूसँग संवाद नगरी निषेधको राजनीति गरिरहेको छ,’ ज्ञवालीले भने । सचिवालय बैठकले हालैको ‘जेनजी आन्दोलन’ का क्रममा ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली अर्पण गर्दै घाइतेहरूको स्वास्थ्यलाभको कामना गरेको छ। एमालेले आन्दोलनमा संलग्न आपराधिक गतिविधिमा दोषीलाई तत्काल कारबाही गर्न माग गरेको छ।
ज्ञवालीले सरकारले प्रहरीलाई पक्राउ नगर्न निर्देशन दिँदै अपराध अनुसन्धानमा हस्तक्षेप गरेको आरोप लगाए। उनले नेताहरूलाई धम्की आउने क्रम बढेको बताउँदै निष्पक्ष चुनावको वातावरण सरकारकै कारण शंकास्पद बनेको बताए।
© 2026 All right reserved to usnepaltoday.com | Site By : SobizTrend