बुधबार, साउन १३ २०८३

१३ साउन २०८३ , बुधबार | July 29, 2026 Wednesday

अभिनेता विजयको र्‍यालीमा भागदौड, कम्तीमा ३१ जनाको मृत्यु, प्रधानमन्त्री मोदीद्वारा दुःख व्यक्त

अभिनेता विजयको र्‍यालीमा भागदौड, कम्तीमा ३१ जनाको मृत्यु, प्रधानमन्त्री मोदीद्वारा दुःख व्यक्त

191
Shares
191
Shares

तमिलनाडु । भारतको तमिलनाडुमा अभिनेताबाट राजनीतिमा प्रवेश गरेका विजयको चुनावी र्‍यालीमा भागदौड मच्चिँदा कम्तीमा ३१ जनाको मृत्यु भएको छ । घटनामा महिला तथा बालबालिकासहित दर्जनौँ घाइते भएका छन् ।

तमिलनाडुको करुर जिल्लामा शनिवार साँझ आयोजित तमिलगा वेट्री कझगम (टिभीके) पार्टीको विशाल चुनावी सभामा अप्रत्याशित रूपमा भागदौड मच्चिएको थियो । सभामा हजारौँको संख्यामा मानिसहरू उपस्थित थिए । अचानक भीड अनियन्त्रित हुँदा उक्त दुःखद घटना हुन पुगेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

तमिलनाडु सरकारका पूर्वमन्त्री तथा स्थानीय विधायक सेन्थिल बालाजीले सञ्चारमाध्यमलाई दिएको जानकारीअनुसार घटनामा बालबालिका र महिलासहित ३१ जनाको ज्यान गएको पुष्टि भएको छ । मृतकको संख्या बढ्न सक्ने अनुमान गरिएको छ ।

घटना लगत्तै तमिलनाडुका मुख्यमन्त्री एम.के. स्टालिनले जिल्लामा आपतकालीन प्रोटोकल लागु गर्न निर्देशन दिनुभएको छ । उहाँले घटनालाई “चिन्ताजनक” बताउँदै घाइतेहरूको तत्काल उपचारको व्यवस्था गर्न स्वास्थ्य मन्त्री र जिल्ला अधिकारीलाई निर्देशन दिनुभएको छ ।

यसैबिच, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले घटनाप्रति गहिरो दुःख व्यक्त गर्नुभएको छ । सामाजिक सञ्जालमा उहाँले लेख्नुभएको छ, “तमिलनाडुको करुरमा भएको राजनीतिक र्‍यालीको दुर्भाग्यपूर्ण घटना अत्यन्तै दुःखदायी छ । मेरो समवेदना आफ्ना प्रियजन गुमाएका परिवारहरूप्रति छ । यो कठिन समयमा उनीहरूलाई शक्ति मिलोस् भन्ने कामना गर्दछु र सबै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछु ।”

घाइतेहरूको करुरस्थित सरकारी अस्पताल र अन्य निजी अस्पतालहरूमा उपचार भइरहेको छ । स्वास्थ्य मन्त्री एम. सुब्रमण्यमले त्रिचीबाट थप स्वास्थ्यकर्मीको टोली करुर पठाइएको र आफु पनि घटनास्थलतर्फ प्रस्थान गरेको जानकारी दिनुभएको छ ।

विपक्षी दल एआईएडीएमकेका महासचिव के. पलानिस्वामीले पनि घटनाप्रति दुःख व्यक्त गर्दै मृतकका परिवारप्रति समवेदना प्रकट गर्नुभएको छ ।

अभिनेता विजयले सेप्टेम्बर २७ मा करुरमा चुनावी प्रचारका क्रममा सभालाई सम्बोधन गरिरहेका थिए । सोही क्रममा भीडमा च्यापिएर धेरै मानिस बेहोस भएका थिए । रिपोर्टका अनुसार, घाइतेहरूलाई करुर सरकारी अस्पतालका साथै एक निजी अस्पतालमा पनि भर्ना गरिएको छ ।

  • प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    सम्बन्धित समाचार

    © 2026 All right reserved to usnepaltoday.com | Site By : SobizTrend