काठमाडौँ – साहित्यकार तथा गीतकार हरिभक्त बुढाथोकीको नयाँ गीत ‘जोवनै ढल्की गएसी’ सार्वजनिक भएको छ। मेलिना राई र टेक बी.सीको स्वरमा सजिएको यस गीतलाई बुढाथोकीकै आधिकारिक युट्युब च्यानलबाट दर्शकमाझ ल्याइएको हो।
गीतमा भीम बी.सीको संगीत रहेको छ भने शब्द स्वयं ८६ वर्षीय गीतकार बुढाथोकीले लेखेका हुन्। गीतको म्युजिक भिडियोमा लोकप्रिय अभिनेता सलोन बस्नेत, गायक टेक बी.सी र विनीता ओलीको जीवन्त अभिनय देख्न सकिन्छ।
सान थापाको निर्देशनमा तयार भएको भिडियोलाई नबराज उप्रेतीले छायांकन गरेका हुन् भने सम्पादनको जिम्मेवारी विवेक सुनारले सम्हालेका छन्। भिडियोको शृङ्गार मिलन विश्वकर्मा र नृत्य निर्देशन विशाल कैनेले गरेका छन्।
को हुन् हरिभक्त बुढाथोकी ?
हरिभक्त बुढाथोकी नेपाली साहित्य, संगीत र समाजसेवामा स्थापित एक सम्मानित नाम हो। एक दर्जनभन्दा बढी पुस्तकका लेखक बुढाथोकीले विभिन्न विधामा शोधपत्रसमेत प्रस्तुत गरेका छन्। उनी नेपालमा ड्राइभिङसम्बन्धी पुस्तक लेख्ने पहिलो लेखक तथा सम्बन्धित पत्रिकाका पहिलो सम्पादक र प्रकाशक पनि हुन्। तेह्रथुम जिल्लाको पहिलो नाटककारको रूपमा चिनिने बुढाथोकीको पहिलो नाटक ‘वसन्त कोपिला’ हो। नाटककार, उपन्यासकार, कथाकार तथा गीतकारका रूपमा उनको बहुआयामिक पहिचान छ।
यसअघि उनका ‘प्यारो बाबा’, ‘बुढेसकाल’, ‘नजर लाग्ला नि’, ‘मुटुमै गाँसेको साइनो’ जस्ता दर्जनौँ आधुनिक गीतहरू तथा पतञ्जलि योग गान र रोटरी गानजस्ता विशिष्ट रचनाहरू समेत प्रकाशित भइसकेका छन्। साहित्य र संगीतबाहेक सामाजिक तथा शैक्षिक क्षेत्रमा उनको निस्वार्थ योगदान पनि उत्तिकै प्रशंसनीय छ।
यो लेखकका कुनै समाचार भेटिएनन्।
© 2026 All right reserved to usnepaltoday.com | Site By : SobizTrend