मंगलबार, साउन १२ २०८३

१२ साउन २०८३ , मंगलबार | July 29, 2026 Wednesday

युएई लगायतका खाडी मुलुकले भिसामा कडाइ गरेपछि नेपालले थाल्यो कुटनीतिक पहल

युएई लगायतका खाडी मुलुकले भिसामा कडाइ गरेपछि नेपालले थाल्यो कुटनीतिक पहल

67
Shares
67
Shares

काठमाडौं । संयुक्त अरब इमिरेट्स (युएई) लगायतका प्रमुख श्रम गन्तव्य मुलुकहरूले नेपाली नागरिकका लागि भिसामा कडाइ गरेपछि नेपाल सरकारले कुटनीतिक पहल सुरु गरेको छ। परराष्ट्र मन्त्रालयले सम्बन्धित देशका नेपाली दुतावासमार्फत भिसा प्रक्रियालाई सहज बनाउन संवाद अघि बढाएको हो ।

यूएईले नेपालीहरूका लागि भिजिट भिसा पुर्ण रूपमा बन्द गरेको छ भने कामका लागि जाने भिसा (वर्किङ भिसा) मा पनि निकै कडाइ गरेको छ। युएईको यो कदमपछि मलेसिया, कतार र साउदी अरेबिया जस्ता देशहरूले पनि नेपाली कामदारका लागि भिसा प्रक्रियालाई कडा बनाएका छन् ।

गत भदौ २४ गते ‘जेनजी आन्दोलन’का क्रममा नेपालका विभिन्न कारागारबाट हजारौं कैदीहरू भागेको घटनापछि यी देशहरूले आफ्नो राष्ट्रिय सुरक्षामा खतरा हुन सक्ने भन्दै भिसामा कडाइ गरेको बुझिएको छ । आपराधिक गतिविधिमा संलग्न व्यक्तिहरू आफ्नो देशमा प्रवेश गर्न सक्ने आशंकामा उनीहरूले यस्तो कदम चालेको बताइएको छ ।

परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले भिसामा गरिएको कडाइबारे मन्त्रालयको ध्यानाकर्षण भएको र सम्बन्धित दूतावासहरूसँग यसबारे विस्तृत जानकारी मागिएको बताउनुभयो। “केही राष्ट्रले किन यस्तो कडाइ गरेका हुन् भन्नेबारेमा हामी दुतावाससँग बुझिरहेका छौँ र यसलाई सहज बनाउन तत्काल पहल गर्नेछौँ,” प्रवक्ता क्षेत्रीले भन्नुभयो ।

खाडी सहयोग परिषद् (जीसीसी) मा आबद्ध एक देशले कुनै नीति लिएपछि अन्य सदस्य राष्ट्रले पनि त्यसलाई पछ्याउने प्रचलन छ। सोहीअनुसार गत सेप्टेम्बर १५ मा युएईले भिसामा कडाइ गरेपछि कतार, साउदी अरेबिया लगायतका जीसीसी सदस्य राष्ट्रहरूले पनि सोही नीति लिएका हुन्। यसले गर्दा वैदेशिक रोजगारीमा जाने तयारीमा रहेका हजारौं नेपालीहरू प्रभावित भएका छन्।

  • प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    सम्बन्धित समाचार

    © 2026 All right reserved to usnepaltoday.com | Site By : SobizTrend