काठमाडौं । वैज्ञानिक एवं अभियन्ता महावीर पुनले हालै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रीको पदभार ग्रहण गरेका छन्। उनले आफ्नो यो नयाँ भूमिकालाई ‘सिनेमाको दृश्य परिवर्तन भएजस्तो’ लागेको बताएका छन्। सधैँ टिसर्ट र चप्पलमा देखिने पुन सोमबार भने दौरा-सुरुवाल र टोपीमा सजिएका थिए।
पदभार ग्रहण गरेकै दिन मन्त्री पुनले २०८० वैशाख १८ मा आफूसँग तत्कालीन सरकारले गरेको सम्झौताको फाइल खोजेका छन्। उक्त सम्झौतामा आविष्कार, अनुसन्धान र नवप्रवर्तनका लागि विकास बजेटको एक प्रतिशत रकम छुट्टाउने कुरा उल्लेख थियो। सो सहमति कार्यान्वयनमा ढिलाइ भएकोमा उनले असन्तुष्टि व्यक्त गर्दै कर्मचारीहरूलाई काममा ढिलासुस्ती नगर्न निर्देशन दिए।
मन्त्रालयले ‘थिंक ट्यांक’ समिति बनाउने प्रस्ताव ल्याउँदा उनले तत्काल हस्ताक्षर गर्न मानेनन्। उनले समिति बनाएर मात्र नहुने भन्दै त्यसको लागि आर्थिक स्रोत कहाँबाट जुटाउने भन्ने प्रश्न गरे। ‘काम गर्ने समिति बनाउनुहोस्, नाम मात्रको होइन,’ उनले भने।
जेनजी आन्दोलनको जगमा आफू मन्त्री बनेको बताउँदै उनले आफू युवाहरूसँग नजिक रहेको दाबी गरे। ‘म ७१ वर्षको भए पनि ३० वर्षको हुँ, किनभने मैले युवाहरूसँग काम गरेको छु। म जेनजीको साथी दाइ हुँ,’ उनले भने। उनले मन्त्रालयमा कुनै पनि अनियमितता हुन नदिने प्रतिबद्धता जनाएका छन्।
मन्त्री पुनले आफ्नो कार्यकालमा सिंहदरबारमा क्वार्टरमा नबसी मन्त्रालयमै बस्ने घोषणा गरेका छन्। ‘एउटा बेड र कुर्सी भए पुग्छ। म आफैँ पकाएर खान्छु,’ उनले भने। उनले आफ्नो छोटो कार्यकालमा कार्यविधि बनाएर नयाँ कामको थालनी गर्ने योजना रहेको बताए।
मन्त्रालयको जिम्मेवारी सम्हालेपछि पुनले आफूले आविष्कार केन्द्रको अध्यक्ष पदबाट राजीनामा दिएको जानकारी दिएका छन्। उनले आफू ६ महिनापछि मन्त्री पदमा नरहने घोषणा पनि गरे।
© 2026 All right reserved to usnepaltoday.com | Site By : SobizTrend