नेपालमा भएको जेनजी आन्दोलनका अगुवा मीरज ढुंगानाले अब प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखको व्यवस्था नभए फेरि सडकमा आन्दोलन गर्ने चेतावनी दिएका छन् । हिमालय टेलिभिजनको ‘यक्ष प्रश्न’ कार्यक्रममा उनले अहिलेको दलीय प्रणालीले विश्वास गुमाएको र ‘डिलर’हरू हाबी भएको आरोप लगाए ।
ढुंगानाका अनुसार, सेप्टेम्बर ८ मा सुरु भएको जेनजी आन्दोलनलाई ‘अदृश्य शक्ति’ र ‘स्वार्थी समुह’ले आफ्नो कब्जामा लिएको थियो । उनी भन्छन्, “हामीले नेतृत्वविहीन आन्दोलन चलाएका थियौँ, तर पछि डिलरहरू आएर यसलाई आफ्नो स्वार्थमा प्रयोग गरे ।” उनले आन्दोलनको क्रममा भएको तोडफोड र आगजनीको घटनामा जेनजी युवाहरूको संलग्नता नरहेको दाबी गरे ।
आन्दोलनपछि उनलाई अपरिचित नम्बरबाट ज्यान मार्ने धम्की आएको र त्यसपछि उनी गोप्य स्थानमा बस्न बाध्य भएको बताए । आफ्नै साथीहरूले उनलाई ‘दुर्गा प्रसाईको झोले’ भनेर आरोप लगाएपछि उनी सेप्टेम्बर २३ र २४ को प्रदर्शनमा अनुपस्थित रहे । उनी भन्छन्, “यस्तो राजनीतिको शिकार भए ।”
ढुंगानाले आफु तत्काल सरकारमा नजाने तर भविष्यमा आवश्यक परेमा चुनाव लड्न तयार रहेको बताए । उनले भने, “यदि हाम्रो माग सुनुवाइ भएन भने, आगामी चुनावमा म आफैँ उम्मेदवारी दिन्छु ।” उनले देशलाई बोल्न जान्ने नेता नभई दक्ष, सीपयुक्त र योजना भएको नेतृत्व चाहिएकोमा जोड दिए ।
© 2026 All right reserved to usnepaltoday.com | Site By : SobizTrend