काठमाडौँ । जेनजी आन्दोलनपछि बनेको अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले मन्त्रिपरिषद्लाई पुर्णता दिन विभिन्न व्यक्तिहरूसँग छलफल गरिरहेकी छिन् । सरकार गठन भएको १० दिन भइसकेकाले मन्त्रीहरू चाँडै नियुक्त गर्न उनीमाथि दबाब बढेको छ ।
आन्दोलनको भावना र समावेशितालाई ध्यानमा राखेर उनले राजनीतिमा नलागेका तर राम्रो छवि भएका व्यक्तिहरूलाई मन्त्री बनाउन खोजेकी छिन् । यसका लागि उनले केही व्यक्तिहरूसँग सिधै कुरा गरेकी छन् भने केहीसँग जेनजीका प्रतिनिधिमार्फत सम्पर्क गरेकी छन् ।
कुराकानीका क्रममा केही व्यक्तिले मन्त्री बन्न राजी भएका छन् भने केहीले अहिले मन्त्री बन्न नसक्ने बताएका छन् । प्रधानमन्त्री कार्कीको समुहले केही सम्भावित नामहरूमा छलफल गरिरहेको छ ।
छलफलमा रहेका केही नामहरूमा पुर्व न्यायाधीश अनिलकुमार सिन्हा, पुर्व मानव अधिकार आयुक्त मोहना अन्सारी, वैज्ञानिक महावीर पुन, स्वास्थ्यकर्मी संगीता मिश्र, सञ्चारकर्मी जगदीश खरेल, सम्पदाकर्मी गणपतिलाल श्रेष्ठ, बब्लु गुप्ता, रक्षा बम लगायत छन् । तर, यी नामहरूमा अन्तिम निर्णय भइसकेको छैन ।
जेनजी युवाहरूले केही नाममा प्रश्न उठाएकाले प्रधानमन्त्री कार्कीले उनीहरूको बारेमा थप जानकारी लिइरहेकी छन् । त्यसैले आइतबार नै मन्त्रीहरू नियुक्त हुने निश्चित छैन ।
प्रधानमन्त्री कार्कीले बढीमा ११ जना मन्त्री बनाउने घोषणा गरेकी थिइन् । अहिलेसम्म तीन जना मन्त्री बनिसकेका छन् । यदि उनी आफ्नो अडानमा कायम रहेमा अब ७ जना मन्त्री थपिन सक्छन् । धेरै मन्त्रालयको जिम्मेवारी एकै व्यक्तिलाई दिने उनको योजना छ ।
अहिले कुलमान घिसिङले तीनवटा मन्त्रालय, अर्थमन्त्री रामेश्वर खनालले एउटा मन्त्रालय र ओमप्रकाश अर्यालले दुई वटा मन्त्रालयको जिम्मेवारी सम्हालिरहेका छन् ।
© 2026 All right reserved to usnepaltoday.com | Site By : SobizTrend