काठमाडौं । नेपालको संविधान जारी भएको दिनको सम्झनामा आज संविधान दिवस मनाइयो। यस अवसरमा काठमाडौँमा बृहत शान्ति र्याली आयोजना गरिएको छ । शान्ति र लोकतन्त्रका लागि पेशागत सञ्जाल (पापड) ले आयोजना गरेको यो र्याली माइतीघरबाट सुरु भई भद्रकाली, सहिदगेट, त्रिपुरेश्वर, र थापाथली हुँदै पुनः माइतीघरमा आएर सभामा परिणत भएको थियो ।
र्यालीमा विभिन्न पेसा तथा व्यवसायका नागरिकहरूको उल्लेख्य सहभागिता थियो। संविधानविद्, पत्रकार, वकिल, मानवअधिकारकर्मी, शिक्षक, र बुद्धिजीवीहरू लगायतका नागरिकहरूले संविधानको रक्षा, सुशासनको स्थापना र शान्तिको नारा लेखिएका प्लेकार्डहरू बोकेका थिए । सहभागीहरूले समयअनुसार संविधानमा संशोधन र सुधारको आवश्यकतामा पनि जोड दिए।
यसैगरी, संविधान दिवसको अवसरमा सैनिक मञ्च, टुँडिखेलमा विशेष समारोहको आयोजना गरिएको छ। राष्ट्रपति रामचन्द्र पौडेलको समुपस्थितिमा भइरहेको यो समारोहमा प्रधानमन्त्री, मन्त्रीगण र अन्य उच्च पदस्थ अधिकारीहरूको पनि उपस्थिति रहेको छ ।
© 2026 All right reserved to usnepaltoday.com | Site By : SobizTrend