मंगलबार, साउन १२ २०८३

१२ साउन २०८३ , मंगलबार | July 28, 2026 Tuesday

नेपालको हालैको अवस्थाबारे युएस नेपाल पोलिसी रिसर्च सेन्टर अमेरिकाको धारणा

नेपालको हालैको अवस्थाबारे युएस नेपाल पोलिसी रिसर्च सेन्टर अमेरिकाको धारणा

115
Shares
115
Shares

नेपालको राजधानी उपत्यका लगायत देशै भरी सेप्टेम्बर ८, यता भएको जेन जी पुस्ताका निर्दोष युवाहरूको प्रदर्शनमा भएको गोली प्रहार, हत्या तथा प्रहरीको दुःखद निधन एवं सरकारी भवन, ऎतिसाहिक धरोहर र दस्ताबेज डढाउने, सार्वजनिक र निजी सम्पत्ति ध्वस्त पार्ने, लुटपाट गर्ने र अराजकता फैल्याउने कार्य अत्यन्तै पिडादायी छन्। मुलुकमा संवैधानिक रिक्तता, अनिश्चय र जनधनको क्षतिले राष्ट्रिय सुरक्षा तथा सार्वभौमसत्ता माथि समेत संकट देखा पर्दा मातृभूमिको पिडामा हामी विदेशमा रहेका नेपाली अत्यन्तै चिन्तित छौँ।

देशमा भ्रष्टाचार, कुशासन, पुराना दलका पुरातनि नेतृत्वको अकर्मण्यता, अदुरदर्शिता, नाता र गुटवादलाई पोस्ने कुकर्मले सर्वत्र असन्तुष्टि र निराशा केही वर्ष देखिनै पन्पिदै गइरहेको थियो। जेन जी पुस्ताले अगुवाइ गरे, आवाज उठाए, र अब अति भो भनेर सडक प्रदर्शनमा आए। राजनीतिक पुरानो एउटा पुस्ताले घुँडा टेक्यो, सबैलाई सबक हो त्यो।

अब अवस्था बदल्न सुबिचारित ढंगले अघि बढ्नु पर्नेमा अवसरवादी, घुस पैठिया र अपराधीले जेन जी को उत्कट चाहाना र बहानामा खेल्न लुटपाट, आगजनी, अपराधीलाई जेलबाट भगाउने, मन नपरेका मान्छे र घर, व्यवसाय तथा संरचना माथि धावा बोल्ने गैर कानुनी कार्यलाई पुरुषार्थ प्रचार गरी जेन जी र नेपालीको भावना र उद्देश्य लाई बदनाम गर्ने र प्राप्त उपलब्धिलाई ओझेलमा पारी देसलाई अझ कमजोर र लथालिङ्ग बनाउने तत्वले कुचेष्टा गरेको देखिन्छ । आन्दोलनकारी, सुरक्षा निकायहरू, र आम नागरिक सचेत भई यथाशक्य छिटो नागरिक सर्वोच्चता सहितको बेदाग, इमानदार, योग्यता र अनुभवी नेपाली नागरिकहरूको अन्तरिम सरकारको टिम बनाएर शान्तिपुर्ण र संवैधानिक तरिकाबाटै नयाँ नेपालको शासन पद्धति , पुननिर्माण, हिजो बदमासी गर्नेहरूलाई कारबाही गर्ने, संविधान र कानुनका अगतिला कुरा सुधार गर्दै सुव्यवस्था ल्याउन आन्दोलनरत जेन जी समूह, राष्ट्रपति , न्यायालय, दलहरू, संचार क्षेत्र, नागरिक समाज कृयाशिल हुनुपर्छ । साथै देश भित्रैका बदमास, आपराधिक तत्व र नेपालको हित नचाहने वाह्य तत्वले नेपालीलाई खेलाउने र कमजोर पार्न खोज्ने षडयन्त्र चिर्न सक्षम हुन सक्नु पर्दछ। देश नेपालीले नै बनाउने हो र नेपाली ढले पनि उठ्न र प्रगति गर्न सक्छ भन्ने प्रमाणित गर्ने संगिन यस घडीमा चनाखो र सुझबुझका साथ अघि बढ्न सम्बद्ध सबैलाई आह्वान गर्दछौँ।

युएस नेपाल पोलिसी रिसर्च सेन्टर
अमेरिका,  सेप्टेम्बर १०, २०२५

  • प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    सम्बन्धित समाचार

    © 2026 All right reserved to usnepaltoday.com | Site By : SobizTrend