काठमाडौँ । जेनजी आन्दोलनले फेरि अर्को विज्ञप्ति सार्वजनिक गर्दै अन्तरिम सरकारको नेतृत्वका लागि नयाँ नाम अघि सारेको छ । यसअघि जेनजीभित्रबाट पुर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नाम प्रस्ताव गरिएकोमा पछिल्लो विज्ञप्तिमा कुलमान घिसिङलाई अघि सार्ने निर्णय भएको स्पष्ट गरिएको छ ।
विज्ञप्तिमा भनिएको छ, “संविधान बमोजिम पुर्वप्रधानन्यायाधीश वा न्यायाधीशहरू अन्तरिम सरकारको नेतृत्व गर्न योग्य हुँदैनन् । साथै, ७० वर्ष उमेर नाघिसक्नु भएकाले उहाँले जेनजी पुस्ताको प्रतिनिधित्व समेत गर्न सक्ने स्थिति छैन ।”
यसअघि जेनजी आन्दोलनभित्रका विभिन्न समुहहरूले फरक–फरक नाम अगाडि बढाइरहेका थिए । कतिपय समुहले सुशीला कार्कीलाई सुझाव दिएका थिए भने अन्य समुहले नयाँ पुस्तालाई नजिक ठानिएका व्यक्तिहरूलाई अघि सारिरहेका छन् ।
कुलमान घिसिङलाई अघि सार्ने पछिल्लो प्रस्तावले जेनजी आन्दोलनले ऊर्जा, इमानदारिता र प्रणालीगत सुधारको प्रतीकलाई नेतृत्वमा ल्याउन खोजेको संकेत दिएको देखिन्छ । घिसिङले नेपाल विद्युत् प्राधिकरणमा रहँदा लोडसेडिङ अन्त्य गरी राष्ट्रिय ऊर्जा क्षेत्रमा ठुलो परिवर्तन ल्याएका थिए ।
अब अन्तरिम सरकारको नेतृत्वबारे अन्तिम निर्णयमा पुग्न जेनजी आन्दोलनभित्र अझै छलफल जारी रहने देखिएको छ । यसबिच, विभिन्न राजनीतिक वृत्त र जनसमुदायमा पनि जेनजीले अघि सार्ने नेतृत्वप्रति चासो बढिरहेको छ ।

© 2026 All right reserved to usnepaltoday.com | Site By : SobizTrend