बुधबार, साउन १३ २०८३

१३ साउन २०८३ , बुधबार | July 29, 2026 Wednesday

देश सुरक्षित छ, लोकतान्त्रिक उपलब्धिको रक्षा गर्छौँ: रवि लामिछाने

देश सुरक्षित छ, लोकतान्त्रिक उपलब्धिको रक्षा गर्छौँ: रवि लामिछाने

28
Shares
28
Shares

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले रास्वपा गैर राजनीतिक पृष्ठभूमिबाट आएका नागरिकहरूको साझा मञ्च बनेको बताएका छन् । आइतबार चितवनको भरतपुरमा आयोजित पार्टीको प्रथम महाधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले पटक–पटक आफ्ना विचार र दृष्टिकोण राख्दा पनि सुनुवाइ नभएको बताए ।

लामिछानेले टेलिभिजन, राजनीतिक अभियान तथा कारागारबाट समेत आफ्ना धारणा सार्वजनिक गरे पनि बेवास्ता गरिएको उल्लेख गर्दै रास्वपाको उदय त्यसैको परिणाम भएको दाबी गरे । उनले रास्वपालाई कमजोर बनाउने प्रयास भए पनि पार्टीलाई कसैले ढाल्न नसक्ने बताए ।

उनले कार्यकर्ताहरूलाई फुटाऊ र राज गर भन्ने प्रवृत्तिबाट सचेत रहन आग्रह गर्दै रास्वपा नागरिकको भरोसामा अघि बढेको पार्टी भएको बताए । बदलिएको राजनीतिक परिस्थितिले रास्वपालाई देशको शक्तिशाली राजनीतिक शक्तिका रूपमा स्थापित गरेको उनको भनाइ थियो ।

लामिछानेले लोकतन्त्र, संघीय लोकतान्त्रिक गणतन्त्र, नागरिक अधिकार, मानव अधिकार, समावेशिता र समतामुलक समाजका मुल्यहरूको संरक्षण गर्ने प्रतिबद्धता व्यक्त गरे । “निर्धक्क हुनुहोस्, देश सुरक्षित छ। लोकतान्त्रिक उपलब्धिहरूको रक्षा र जगेर्ना गर्न रास्वपा पुर्ण रूपमा प्रतिबद्ध छ,” उनले भने ।

उनले विगतका सबै आन्दोलन र लोकतान्त्रिक संघर्षहरूको सम्मान गर्दै रास्वपाले ती उपलब्धिहरूको निरन्तरता र संरक्षणमा काम गर्ने बताए । साथै लोकतान्त्रिक अभ्यासलाई कमजोर बनाउने कुनै कदम नचाल्ने स्पष्ट पारे ।

सभापति लामिछानेले राष्ट्रिय राजनीतिमा सबै दल जिम्मेवार हुनुपर्ने धारणा राख्दै नेपाली काँग्रेस र नेकपा एमालेभित्र देखिएका आन्तरिक समस्याहरू समाधान गर्न आग्रह गरे । ती दलभित्रका समस्या समाधान नभए त्यसको असर समग्र देशमा पर्न सक्ने उनको भनाइ थियो ।

  • प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    सम्बन्धित समाचार

    © 2026 All right reserved to usnepaltoday.com | Site By : SobizTrend