कोलोराडो । कोलोराडोको बोल्डर शहरमा नेपाली कला, संस्कृति र पहिचान झल्काउने उद्देश्यसहित आयोजना गरिएको ‘नेपाल डे परेड २०२६’ भव्य रूपमा सम्पन्न भएको छ । कार्यक्रममा स्थानीय जनप्रतिनिधि, विभिन्न संघसंस्थाका प्रतिनिधि तथा नेपाली समुदायको उल्लेखनीय सहभागिता रहेको थियो ।
कार्यक्रमको औपचारिक सुरुवात मध्यान्ह १२ बजे रेखा र विष्णु विवेकको उद्घोषण तथा स्वागत मन्तव्यबाट गरिएको थियो । कार्यक्रममा बोल्डर शहरका मेयर आरोन ब्रोकेट (Aaron Brockett) प्रमुख अतिथिका रूपमा सहभागी हुनुहुन्थ्यो भने हेल्पिङ ह्यान्ड्सका संस्थापक नारायण श्रेष्ठ विशिष्ट अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो । कार्यक्रममा अध्यक्ष आकृति राई तथा आरएमएफएन (RMFN) का पुर्व अध्यक्ष अर्जुन बगालेले मेयर ब्रोकेट, नारायण श्रेष्ठलाई खादा ओढाएर सम्मान व्यक्त गर्नुभएको थियो ।

औपचारिक कार्यक्रममा अध्यक्ष आकृति राईले स्वागत मन्तव्य राख्दै कार्यक्रम सफल बनाउन सहयोग गर्ने संस्था र स्वयंसेवकहरूलाई धन्यवाद दिनुभयो । त्यसै गरी प्रमुख अतिथि मेयर ब्रोकेट र विशिष्ट अतिथि श्रेष्ठले नेपाली समुदायको एकता, संस्कृति संरक्षण र सामाजिक योगदानको प्रशंसा गर्दै शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।

सांस्कृतिक कार्यक्रम अन्तर्गत तमु धी र तमु प्यालु, मगर समाजलगायतका संस्थाहरूले आ–आफ्नो जातीय पहिचान झल्कने सांस्कृतिक प्रस्तुति दिएका थिए । विशेष गरी मगर समाजका तर्फबाट सलिना राना मगर र सुमिना बराघरेले प्रस्तुत गरेको सांस्कृतिक नृत्य तथा गीतले दर्शकको ध्यान आकर्षित गरेको थियो ।

मध्यान्ह १ बजेपछि बोल्डर शहरको मुख्य बजार क्षेत्रमा नेपाली भेसभुसा, झाँकी र विभिन्न संघसंस्थाका ब्यानरसहित ‘परेड वाक’ आयोजना गरिएको थियो । परेडमा सहभागी नेपाली समुदायले नेपाली कला, संस्कृति र राष्ट्रिय पहिचानलाई उत्साहपुर्वक प्रदर्शन गरेका थिए ।

परेड सम्पन्न भएपछि दिउँसो २ बजे पुनः आरएमएफएनका सदस्यहरूबिच भेला तथा धन्यवाद ज्ञापन कार्यक्रम आयोजना गरिएको थियो । कार्यक्रमलाई सफल बनाउन महत्वपुर्ण भुमिका निर्वाह गर्ने तमु धी र तमु प्यालु तथा मगर समाजलाई अध्यक्ष आकृति राई, पुर्व अध्यक्ष अर्जुन बगाले तथा उपाध्यक्ष हरि गुरुङद्वारा खादा र कदर पत्र प्रदान गरी विशेष सम्मान गरिएको थियो ।
Video link Click here
More Photos Click here
© 2026 All right reserved to usnepaltoday.com | Site By : SobizTrend