बुधबार, साउन १३ २०८३

१३ साउन २०८३ , बुधबार | July 29, 2026 Wednesday

रास्वपा सचिवालय बैठकका पाँच निर्णय सार्वजनिक

रास्वपा सचिवालय बैठकका पाँच निर्णय सार्वजनिक

36
Shares
36
Shares

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठकले सुकुम्वासी समस्या समाधानदेखि आगामी स्थानीय तह निर्वाचनको तयारीसम्मका विभिन्न महत्वपूर्ण निर्णय गरेको छ। आइतबार बसेको बैठकले विशेष गरी वास्तविक भूमिहीन र अव्यवस्थित बसोबासको समस्यालाई दीर्घकालीन रूपमा समाधान गर्न सरकारलाई अधिकार सम्पन्न प्राधिकरण गठन गर्न सुझाव दिएको हो।

पार्टी प्रवक्ता मनिष झाले रास्वपाको वाचापत्र अनुसार असुरक्षित क्षेत्रमा बसोबास गरिरहेका नागरिकलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्न प्राथमिकता दिइएको जानकारी दिनुभयो। प्राधिकरणले प्रतिवेदन नदिएसम्म वास्तविक सुकुम्वासी बस्तीमा कुनै पनि प्रकारको कारबाही नगर्न सरकारलाई आग्रह गरिएको छ। साथै स्थानीय तहहरूले संरचना भत्काउने कार्य गर्दा पनि सुकुम्वासी व्यवस्थापनको मर्मलाई ध्यान दिनुपर्ने रास्वपाको धारणा छ।

रास्वपाले बाढी तथा विपद्को जोखिमलाई ध्यानमा राख्दै सुकुम्वासी परिवारलाई सुरक्षित वासस्थान, स्वास्थ्य सेवा र आधारभूत आवश्यकताको व्यवस्था गर्न सरकारलाई सुझाव दिएको छ। पार्टीका अनुसार अधिकार सम्पन्न प्राधिकरणमार्फत व्यवस्थित रूपमा सुकुम्वासी व्यवस्थापन गरिनेछ।

बैठकले आगामी स्थानीय तह निर्वाचनका लागि ‘स्थानीय निर्वाचन उम्मेदवार छनोट रूपरेखा–२०८३’ पारित गरेको छ। उक्त कार्यान्वयनका लागि सहमहामन्त्री विपिनकुमार आचार्यको संयोजकत्वमा समिति गठन गरिएको छ।

त्यसै गरी बैठकले संसदीय दलको संशोधित विधान अनुमोदन गर्नुका साथै ‘महाधिवेशन कार्यविधि–२०८३’ पनि पारित गरेको छ। संगठन सुदृढीकरणअन्तर्गत बागमती प्रदेश समितिको सिफारिसमा रसुवा जिल्ला समिति विघटन गरी नयाँ प्रक्रियाबाट समिति गठन गर्ने निर्णयसमेत गरिएको छ।

पाँच निर्णयहरु
१. मुलुकभर विद्यमान अव्यवस्थित बसोबासलाई सम्बोधन गर्न सरकारले चाँडै नै यस सम्बन्धी अधिकार सम्पन्न प्राधिकरण गठन गरी वास्तविक भूमिहीनहरूको समस्या समाधान गर्न जोड दिएको हुनाले विभिन्न त्रासको शंकामा नपर्न अनुरोध गर्दै असुरक्षित रूपमा बस्न बाध्यहरुलाई सुरक्षित गर्न राष्ट्रिय स्वतन्त्र पार्टीको प्राथमिकता रहेको र राष्ट्रिय स्वतन्त्र पार्टीको वाचापत्रको बुँदा नं. ८२ मा नै यसलाई व्यवस्थित गर्ने कुरा उल्लेख भएकाले असुरक्षित रूपमा बसोबास गर्दै आउनुभएका भूमिहीन सुकुम्बासी नागरिकहरूको हकमा बाहेक अन्यहरूमा प्राधिकरणको प्रतिवेदन पूर्व कुनै पनि कारबाही अगाडि नबढ्ने कुराको जानकारी गराउँदै सरकारलाई सोही अनुरुप गर्न सुझाव दिने।

साथै स्थानीय सरकारहरूले आफ्नो क्षेत्राधिकारको प्रयोग गरी संरचनाहरू भत्काइरहेको सन्दर्भलाई समेत ध्यानमा राखी स्थानीय सरकारलाई पनि यही मर्म अनुरुप व्यवस्थापन गर्न राष्ट्रिय स्वतन्त्र पार्टीले अनुरोध गर्ने ।

२. आगामी स्थानीय तह निर्वाचनका लागि पार्टीका उम्मेदवार छनोट गर्ने विधि “स्थानीय निर्वाचन उम्मेदवार छनोट रूपरेखा–२०८३” लाई पारित गर्दै उक्त रूपरेखालाई अक्षरशः र प्रभावकारी रूपमा कार्यान्वयन गर्न सहमहामन्त्री विपिनकुमार आचार्यको संयोजकत्वमा “उम्मेदवार छनोट रूपरेखा कार्यान्वयन तथा समन्वय समिति” गठन गर्ने ।

३. पार्टीको संसदीय दलको संशोधित विधान अनुमोदन गर्ने ।

४. पार्टीको ऐतिहासिक प्रथम महाधिवेशन सम्पन्न गर्न “महाधिवेशन कार्यविधि–२०८३” पारित गर्ने ।

५. पार्टीको बागमती प्रदेश समितिको सिफारिस बमोजिम रसुवा जिल्ला समिति विघटन गरी नयाँ प्रक्रियाबाट समिति गठन गर्ने।

  • प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    सम्बन्धित समाचार

    © 2026 All right reserved to usnepaltoday.com | Site By : SobizTrend