काठमाडौँ । नवनिर्वाचित प्रतिनिधि सभा सदस्यहरूको शपथग्रहण चैत १३ गतेभित्र सम्पन्न गर्ने तयारी भइरहेको छ, जसपछि मात्रै प्रधानमन्त्री नियुक्ति प्रक्रिया अघि बढ्ने देखिएको छ।
निर्वाचन आयोगले चैत ५ गतेसम्म निर्वाचन परिणाम राष्ट्रपतिलाई बुझाउने तयारी गरेको छ। उक्त प्रतिवेदन प्राप्त भएपछि पाँचदेखि छ दिनभित्रै सांसदहरूको शपथग्रहण गराउने सङ्घीय संसद् सचिवालयको योजना छ। शपथग्रहणअघि ज्येष्ठ सदस्यले पहिले शपथ लिने र त्यसपछि अन्य सदस्यलाई शपथ गराउने व्यवस्था छ।
संविधानअनुसार संसद्को अधिवेशन आह्वान भएपछि मात्रै शपथग्रहण, संसदीय दलको नेता चयन र प्रधानमन्त्री नियुक्ति प्रक्रिया अघि बढ्नुपर्ने कानुनविद्हरूको भनाइ छ। उनीहरूका अनुसार सांसदको शपथपछि मात्रै प्रधानमन्त्री नियुक्ति हुनु उपयुक्त हुन्छ।
यद्यपि, विगतमा शपथग्रहणअघि नै प्रधानमन्त्री नियुक्त भएका उदाहरण पनि रहेका छन्। यस विषयमा फरक–फरक कानुनी व्याख्या देखिए पनि हालको तयारीअनुसार चैत १३ पछि मात्रै नयाँ प्रधानमन्त्री नियुक्त हुने सम्भावना रहेको छ।
संविधानको व्यवस्था अनुसार प्रतिनिधि सभामा बहुमत प्राप्त दलका नेता प्रधानमन्त्री नियुक्त हुनेछन्।

© 2026 All right reserved to usnepaltoday.com | Site By : SobizTrend