काठमाडौँ — नेकपा एमालेका सचिव महेश बस्नेतविरुद्ध अदालतको अवहेलना गरेको आरोपमा सर्वोच्च अदालतमा मुद्दा दायर गरिएको छ। अधिवक्ता लबन न्यौपानेले बुधबार सर्वोच्च अदालतमा बस्नेतविरुद्ध अवहेलनासम्बन्धी निवेदन दर्ता गराएका हुन्।
सर्वोच्च अदालतमा विचाराधीन रहेको प्रतिनिधि सभा पुनर्स्थापनासम्बन्धी मुद्दाको विषयमा सार्वजनिक अभिव्यक्ति दिँदै न्यायाधीशहरूमाथि टिप्पणी गरेको आरोप बस्नेतमाथि लगाइएको छ। जेनजी आन्दोलनपछि विघटन भएको प्रतिनिधि सभा पुनर्स्थापनासम्बन्धी मुद्दालाई लिएर बस्नेतले न्यायालयप्रति आपत्तिजनक अभिव्यक्ति दिएको भन्दै मुद्दा दायर गरिएको हो।
निवेदनमा बस्नेतले सार्वजनिक रूपमा न्यायाधीशहरूको कार्यशैलीबारे टिप्पणी गर्दै “प्रधान न्यायाधीश लगायतका न्यायाधीश लाग्दै नलागेको रोग लागेर गायब हुने, न्यायिक प्रक्रिया आतंकित भएर, डराएर वा लोभ–प्रलोभनमा परेर ढिला गर्ने दबाबमा पर्ने” जस्ता अभिव्यक्ति दिएको उल्लेख गरिएको छ।
त्यस्तै, उनले “देश वैदेशिक आक्रमणमा परेको र सर्वोच्च, उच्च तथा जिल्ला अदालत मात्रै नभई समग्र न्याय प्रणाली नै जलेको अनुभूति भएको” भन्दै न्यायालयको प्रतिष्ठामा आघात पुर्याउने किसिमका टिप्पणी गरेको दाबी निवेदक पक्षले गरेको छ। सर्वोच्च अदालतले उक्त मुद्दाको पेसी चैत १ गतेका लागि तोकेको छ।
© 2026 All right reserved to usnepaltoday.com | Site By : SobizTrend