बुधबार, साउन १३ २०८३

१३ साउन २०८३ , बुधबार | July 29, 2026 Wednesday

राष्ट्रिय स्वाभिमान, लोकतन्त्र र समाजवादी विकासका लागि तारामा मतदान गर्न नेकपाको अपिल

राष्ट्रिय स्वाभिमान, लोकतन्त्र र समाजवादी विकासका लागि तारामा मतदान गर्न नेकपाको अपिल

79
Shares
79
Shares

काठमाडौं । आगामी प्रतिनिधि सभा निर्वाचनका लागि नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले आफ्ना समर्थक र सम्पूर्ण नागरिकहरूलाई तारा चुनाव चिन्हमा मतदानको लागि अपिल गरेको छ ।

पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सहसंयोजक माधव कुमार नेपालले जारी गरेको अपिल पत्रमा मुलुकको लोकतान्त्रिक प्रणाली, संविधान र राष्ट्रिय स्वाधीनताको रक्षा, भ्रष्टाचारविरुद्धको सङ्घर्ष, आर्थिक–सामाजिक रूपान्तरण, तथा समाजवादी समाज निर्माणका पक्षमा आफ्नो दृढ प्रतिबद्धता व्यक्त गरिएको छ ।

अपिलमा पार्टीले शहीद, घाइते, अपाङ्ग र बेपत्ता सङ्घर्षकर्ताहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै उनीहरूको योगदान सम्झने क्रममा जनतासँग आफ्नो दृष्टिकोण र योजना प्रस्तुत गरेको छ । पार्टीले उल्लेख अनुसार अहिले मुलुकमा बाह्य हस्तक्षेप र अस्थिरता फैलाउने प्रयासहरू भइरहेका छन्, जसबाट राष्ट्रिय स्वाभिमान र सार्वभौमसत्तामा चुनौती आउन सक्ने खतरा रहेको छ । यसलाई रोक्न र राष्ट्रिय अखण्डता कायम राख्न पार्टी दृढतापूर्वक उभिने प्रतिबद्धता व्यक्त गरेको छ ।

पार्टीले लोकतान्त्रिक प्रणाली, संघीयता, समानुपातिक र समावेशी सहभागिता कायम राख्न तथा स्थापित प्रणालीविरुद्धका षड्यन्त्रहरूलाई परास्त गर्दै समाजवादी लोकतन्त्रको विकास गर्न आफ्नो तयारी व्यक्त गरेको छ । लोकतन्त्रको सुदृढीकरण मुलुकको विकास र स्थिरताको आधार भएको अपिल पत्रमा भनिएको छ ।

वर्तमान प्रणालीका विरुद्ध गतिविधि गर्ने प्रयासहरूलाई निरुत्साहित गर्दै, नेकपाले देशमा स्थिरता कायम राखेर विकासको यात्रामा अघि बढ्ने अठोट गरेको छ ।

जननिर्वाचित संविधान सभाबाट निर्माण गरिएको संविधानलाई संसारकै उत्कृष्ट संविधानमध्ये एक ठानेको नेकपाले यसमा नेपाली जनताले प्राप्त गरेका अधिकारहरूको संरक्षण गर्ने प्रतिज्ञा व्यक्त गरेको छ । आवश्यकता अनुसार परिमार्जन संविधानले निर्देशन गरेको प्रक्रिया अनुसार मात्रै गर्नुपर्ने पनि अपिलमा उल्लेख छ ।

निर्वाचन प्रणालीको सुधारसम्बन्धी पार्टीको योजना पनि स्पष्ट गरिएको छ । वर्तमान प्रणाली खर्चिलो, जटिल र गठबन्धनको अस्थिरतासँग जोडिएको हुनाले, पार्टीले यसलाई सरल, कम खर्चिलो र पारदर्शी बनाउने प्रतिबद्धता व्यक्त गरेको छ ।

सुशासन र पारदर्शितामा सुधार ल्याउने, भ्रष्टाचारमाथि कडा कारबाही गर्ने, सम्पत्ति छानबिन आयोग गठन गर्ने, र शक्ति पृथकीकरणको सिद्धान्तअनुसार राज्य सञ्चालन गर्ने प्रतिबद्धता पनि पार्टीको अपिलमा समावेश छ । पार्टीले जातीय, लैङ्गिक, सांस्कृतिक, धार्मिक, सामाजिक र भौगोलिक असमानता र उत्पीडन अन्त्य गर्न, छाउपडी, डाइनी–बोक्सी जस्ता कुरीतिहरू उन्मूलन गर्न सक्रिय कदम चाल्ने स्पष्ट संकेत दिएको छ ।

आर्थिक क्षेत्रमा पार्टीले उत्पादन, कृषि, उद्योग, ऊर्जा, व्यापार, पर्यटन र रोजगारी वृद्धि गर्ने योजना प्रस्तुत गरेको छ। आयातआधारित अर्थतन्त्रमा निर्भरता घटाएर स्वाधीन अर्थतन्त्र निर्माण गर्ने, वित्तीय सुधार गर्ने, प्रगतिशील कर प्रणाली लागू गर्ने, र लक्षित वर्ग र समुदाय केन्द्रित कार्यक्रम सञ्चालन गरेर गरिबी अन्त्य गर्ने प्रतिबद्धता पनि अपिलमा उल्लेख गरिएको छ ।

साथै, प्राकृतिक स्रोत र वातावरणको संरक्षण, विपद् व्यवस्थापन र दिगो विकासका लागि नीति निर्माण गर्ने प्रतिबद्धता पनि नेकपाले जनाएको छ । राष्ट्रिय हित सर्वोपरि राख्दै परराष्ट्र सम्बन्ध सञ्चालन गर्ने, असमान सन्धि–सम्झौताहरू खारेज गर्ने र नेपालको अतिक्रमित भूमि फिर्ता गर्ने नीति पनि यस अपिलमा समेटिएको छ ।

पार्टीले विगतमा गरेका क्रान्तिकारी संघर्ष र राजनीतिक परिवर्तनको अनुभवका आधारमा अब मुलुकको अवस्था सुधार्ने दायित्व आफूमाथि रहेको र यसका लागि काम गर्न तयार रहेको स्पष्ट पारेको छ ।

अपिलमा भनिएको छ, ‘अहिले व्यवस्था बदलेको हामीले हो, अब अवस्था पनि हामीले नै बदल्नेछौँ। अरूले गफ गर्ने हुन्, हामी काम गर्छौँ। विगतमा हाम्रा केही कमी–कमजोरी भए, त्यसलाई सच्याएर अघि बढ्नेछौँ ।’

  • प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    सम्बन्धित समाचार

    © 2026 All right reserved to usnepaltoday.com | Site By : SobizTrend