बुधबार, साउन १३ २०८३

१३ साउन २०८३ , बुधबार | July 29, 2026 Wednesday

सर्लाहीमा चुनावी भेटघाटका क्रममा डा. यादवमाथि दुव्र्यवहार, जसपाद्वारा निष्पक्ष छानबिनको माग

सर्लाहीमा चुनावी भेटघाटका क्रममा डा. यादवमाथि दुव्र्यवहार, जसपाद्वारा निष्पक्ष छानबिनको माग

33
Shares
33
Shares

मलंगवा (सर्लाही) । सर्लाही क्षेत्र नम्बर ३ का प्रतिनिधि सभा सदस्यका उम्मेदवार डा. जेपी यादवमाथि बागमतीमा दुव्र्यवहार भएको घटनालाई लिएर जनता समाजवादी पार्टी (जसपा), नेपालले आपत्ति जनाएको छ ।

बिहिबार जिल्ला सदरमुकाम मलंगवामा आयोजित पत्रकार सम्मेलनमा डा. यादवले चुनावी भेटघाटका क्रममा बुधबार दिउँसो आफूमाथि असभ्य व्यवहार गरिएको बताएका हुन्। उनका अनुसार ति व्यक्तिले अपमानजनक शब्द प्रयोग गर्दै ‘मधेशीहरू बीस–तीस रुपैयाँको खान्छन्, यहाँबाट भाग’ जस्ता अभिव्यक्ति दिएका थिए । साथै ‘मधेशीहरूको ओकात थोरै छ’ भन्दै जातीय रूपमा होच्याका थिए ।

उनले लोकतान्त्रिक अभ्यासअन्तर्गत मतदातासँग संवाद गरिरहेका बेला यस्तो घटना भएको दाबी गर्दै मधेशी समुदायमाथि हुने कुनै पनि प्रकारको विभेद अस्वीकार्य हुने स्पष्ट पारे। घटनाप्रति उनले कडा आपत्ति जनाउँदै दोषीमाथि कारबाही हुनुपर्ने माग गरे।

पत्रकार सम्मेलनमा बोल्दै जसपाका जिल्ला अध्यक्ष रन्धिर यादवले घटनाको निष्पक्ष छानबिन गरी संलग्न व्यक्तिहरूलाई कानुनी दायरामा ल्याउन सम्बन्धित निकायसँग आग्रह गरे। उनले कारबाही प्रक्रियामा ढिलाइ भए वा दोषीलाई उन्मुक्ति दिन खोजिए आन्दोलनका कार्यक्रम घोषणा गरिने चेतावनी दिए। निर्वाचनलाई शान्तिपूर्ण, सुरक्षित र भयमुक्त वातावरणमा सम्पन्न गराउन सुरक्षा संयन्त्रलाई थप सक्रिय बनाउन पनि उनले माग गरे।

यसैगरी, पूर्व लोसपा जिल्ला अध्यक्ष तथा हाल जसपाका नेता रामप्रसाद यादवले पनि निर्वाचन स्वतन्त्र र निष्पक्ष वातावरणमा सम्पन्न हुनुपर्नेमा जोड दिए। उनले राजनीतिक प्रतिस्पर्धालाई स्वस्थ ढंगले अघि बढाउन सबै दल र सरोकारवाला पक्ष जिम्मेवार बन्नुपर्ने बताए।

यता, जिल्ला प्रहरी कार्यालय सर्लाहीले भने यस घटनामा संग्लग्न रहेको आरोपमा एक जनालाई नियन्त्रणमा लिएर घटनाका सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ । प्रहरीका अनुसार पक्राउ पर्नेमा स्थानीय प्रसान्त वाइवा रहेका छन्।

  • प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    सम्बन्धित समाचार

    © 2026 All right reserved to usnepaltoday.com | Site By : SobizTrend