बुधबार, साउन १३ २०८३

१३ साउन २०८३ , बुधबार | July 29, 2026 Wednesday

मकवानपुर–१ बाट कांग्रेसकी महालक्ष्मी उपाध्याय ‘डिना’ जित्नैपर्ने दबाबमा

मकवानपुर–१ बाट कांग्रेसकी महालक्ष्मी उपाध्याय ‘डिना’ जित्नैपर्ने दबाबमा

39
Shares
39
Shares

हेटौँडा । नेपाली कांग्रेसकी केन्द्रीय नेतृ महालक्ष्मी उपाध्याय ‘डिना’ आगामी प्रतिनिधिसभा निर्वाचन २०८२ मा मकवानपुर निर्वाचन क्षेत्र नम्बर–१ बाट उम्मेदवार बनेकी छन्।

लामो राजनीतिक संघर्ष, उतार–चढाव र निरन्तर चुनावी असफलताबीच पनि जनताबाट प्रत्यक्ष अनुमोदनको लक्ष्यसहित उनी पुनः चुनावी मैदानमा उत्रिएकी हुन्।

२०२१ सालमा चितवनमा जन्मिएकी डिनाको पारिवारिक पृष्ठभूमि नै प्रजातान्त्रिक आन्दोलनसँग जोडिएको छ।
उनी जन्मिँदा उनका हजुरबुवा उदयनाथ अधिकारी देशद्रोहको मुद्दामा जेलमा थिए। प्रजातन्त्रका लागि संघर्ष गरेका अधिकारी १२ वर्ष जेल बसेका थिए भने उनी नेपाली कांग्रेस चितवनका जिल्ला सभापति समेत रहिसकेका थिए।

डिनाले २०३९ सालमा काठमाडौंको बागबजारस्थित पद्मकन्या क्याम्पसमा अध्ययन सुरु गरेपछि सक्रिय रूपमा विद्यार्थी राजनीति थालिन्। नेविसंघको राजनीतिमा खुलेर लागेकी उनी २०४२ सालको सत्याग्रह आन्दोलनका क्रममा नेतृ शैलजा आचार्यसँगै सात महिना जेल बसिन्।
२०४३ सालमा पद्मकन्या क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) सभापतिमा निर्वाचित भएसँगै उनको राजनीतिक यात्राले थप गति लिएको थियो।

२०४७ देखि २०५७ सालसम्म डिना नेपाल महिला संघ, मकवानपुरको सभापति रहिन्। २०५९ सालमा पार्टी विभाजनपछि उनी नेपाली कांग्रेस (प्रजातान्त्रिक) की केन्द्रीय सदस्य भइन्। पछि पार्टी एकीकरण पश्चात् कांग्रेसको चौधौं महाधिवेशनबाट सहमहामन्त्री पदमा निर्वाचित भइन्।
प्रत्यक्ष निर्वाचनमा भने डिनाको यात्रा चुनौतीपूर्ण रहँदै आएको छ। उनले यसअघि मकवानपुर–१ बाट चार पटक पराजय बेहोरेकी छन्। कम्युनिष्ट प्रभाव रहेको मकवानपुरमा उनले २०४८ को आमनिर्वाचन र २०५१ को मध्यावधि निर्वाचनमा पराजय व्यहोरेकी थिइन्। त्यसपछि २०६४ र २०७० सालमा समानुपातिक प्रणालीमार्फत संविधानसभा सदस्य बन्न सफल भइन्। तर २०७४ र २०७९ को निर्वाचन पनि उनको पक्षमा रहेन।

डिनाले २०४८, २०५१ र २०७४ को निर्वाचनमा मकवानपुर–२ बाट नेकपा एमालेका तत्कालीन उम्मेदवार विरोध खतिवडासँग पराजय बेहोरेकी थिइन्।

२०७९ सालमा निर्वाचन क्षेत्र परिवर्तन गरी मकवानपुर–१ बाट प्रत्यक्ष उम्मेदवार बनेकी उनी गठबन्धनको प्रभावका कारण राप्रपाका दीपक बहादुर सिंहसँग पराजित भइन्।

अघिल्लो निर्वाचनमा बलिया उम्मेदवारसँग त्रीपक्षीय प्रतिस्पर्धा गरेकी डिनाले यसपटक भने चार जनासँग प्रत्यक्ष प्रतिस्पर्धा गर्नुपर्ने देखिन्छ।
आगामी निर्वाचनमा डिनासँगै राष्ट्रिय प्रजातन्त्र पार्टीका दीपक बहादुर सिंह, नेकपा एमालेका रामेश्वर राना, नेकपाका विजय गौतम लगायतका उम्मेदवार चुनावी मैदानमा छन्।

आफूले चुनाव नलड्ने सोच बनाइसकेको अवस्थामा पनि पार्टी नेतृत्वको आग्रह र ‘जितेर आउनुहुन्छ’ भन्ने ढाडसपछि उम्मेदवारी दिएको डिनाले बताएकी छन् । लामो राजनीतिक अनुभव र संगठनात्मक आधारका बलमा यसपटक जनताको मतबाट अनुमोदित हुने आशा उनले व्यक्त गरेकी छन्।

  • प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    सम्बन्धित समाचार

    © 2026 All right reserved to usnepaltoday.com | Site By : SobizTrend