मंगलबार, साउन १२ २०८३

१२ साउन २०८३ , मंगलबार | July 29, 2026 Wednesday

सहिदहरुको सपना पुरा गर्नु नेतृत्वकर्ताहरूको कर्तव्य हो : डंगोल

सहिदहरुको सपना पुरा गर्नु नेतृत्वकर्ताहरूको कर्तव्य हो : डंगोल

57
Shares
57
Shares

काठमाडौं । काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले सहिदप्रति श्रद्धाञ्जली अर्पण गरेकी छन् ।

शुक्रबार लैनचौरस्थित सहिदपार्कमा सहिद दिवसको अवसरमा स्वेच्छाचारिता एवं एकतान्त्रिक शासन व्यवस्थाको अन्त्यका लागि प्राण आहुति दिएका वीर सहिदहरुको स्मरण गर्दै उनले सहिदका सपना पुरा गर्न नेतृत्वकर्ताहरूलाई अनुरोध समेत गरिन् ।

‘यहाँ राणा शासनविरुद्ध १९९७ सालमा सुरु भएको संघर्ष र त्यसपछिका विभिन्न राजनीतिक आन्दोलनमा ज्यान गुमाउने वीर सहिदहरूको बलिदानको उच्च कदर गर्दै, म उहाँहरू प्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्न चाहान्छु,’ डंगोलले भनिन्, ‘स्वेच्छाचारिता एवं एकतान्त्रिक शासन व्यवस्थाको अन्त्यका लागि प्राण आहुति दिनु भएका सहिदहरूलाई स्मरण गर्दै, उहाँहरूको वास्तविक सपना पूरा गर्न सबै तहका सरकारका नेतृत्वकर्ताहरूलाई एकै स्थानमा उभिन हार्दिक अनुरोध गर्दछु ।’

उनले राणा शासनको अन्त्य र जनताको स्वतन्त्रता, स्वाधिनताका लागि सहिदहरूले दिएको बलिदानको जगमा आज लोकतान्त्रिक शासन व्यवस्था अभ्यास गरिरहेको बताइन् ।

‘राणा शासनको अन्त्य र जनताको स्वतन्त्रता, स्वाधिनताका लागि सहिदहरूले दिएको बलिदानको जगमा आज हामी लोकतान्त्रिक शासन व्यवस्था अभ्यास गरिरहेका छौँ ।’ उनले भनिन् ।

सहिदहरूको नाममा सञ्चालित सेवा प्रदायक ठाउँहरूले नागरिकलाई मार्गदर्शन गर्दै आएको भन्दै उनले आज दिने राजनीतिक नेता, कार्यकर्ता र आम नागरिक सबैलाई प्रेरणा दिने बताइन् ।

डंगोलले नागरिक अधिकार, समावेशिता र सहभागिता सहिदहरूले नेपाल र नेपालीका लागि दिएको सुन्दर उपहारका रूपमा लिन आवश्यक रहेको बताइन् ।

उनले भनिन्, ‘नागरिक अधिकार, समावेशिता र सहभागिता सहिदहरूले नेपाल र नेपालीका लागि दिएको सुन्दर उपहारका रूपमा लिन आवश्यक छ । हामीले सहिदहरूलाई सम्झिने मात्र होइन, उहाँहरूबाट ऊर्जा लिएर शासन प्रणाली र व्यवस्थापनमा दैनिक प्रभाव देखिनसक्ने बनाउनु आवश्यक छ ।’

उक्त सहिद स्मरण कार्यक्रममा प्रधानमन्त्री सुशीला कार्कीद्वारा लैनचौरस्थित सहिदपार्कमा सहिदप्रति श्रद्धाञ्जली पुष्पाञ्जली अर्पण र मौन धारण गर्दै वीर सहिदहरूको योगदानलाई सम्मान गरिएको थियो ।

  • प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    सम्बन्धित समाचार

    © 2026 All right reserved to usnepaltoday.com | Site By : SobizTrend